सर्लाहीकी सङ्क्रमित युवती मोटरसाइकलमा दुई साताअघि काठमाडौँ पुगेकी थिइन्

जनार्जन खत्री/ सर्लाही 

सर्लाहीकी तेस्रो कोरोना भाईरस (कोभिड–१९) सङ्क्रमित युवती दुई साताअघि मात्रै गाउँबाट काठमाडौं गएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा रामनगर गाउँपालिका–४, बहुअर्वाकी १८ वर्षीया युवतीमा आज कोरोना पुष्टि भएको हो । परिवारका सदस्यसँग सोधपुछ गर्दा फागु पूर्णिमा (होली) मनाउन चैत ७ गते गाउँ आएकी युवती वैशाख २२ गते मोटरसाइकलमा काठमाडौँ गएको खुलेको रामनगर गाउँपालिका–४, का वडाध्यक्ष रामनरेश महतोले जानकारी दिनुभयो ।

युवतीसँगै उहाँका दुई बहिनी, एउटा भाइ र गाउँबाट काठमाडौं चल्ने बसमा काम गर्ने एक जना कन्डक्टर, दुईवटा मोटरसाइकलमा काठमाडौँ गएका थिए । ‘फर्निचरको काम गर्ने सङ्क्रमित युवतीको बुवालाई टेलिफोन गरेर बुझ्दा उनीहरू वैशाख २२ गते मोटरसाइकलमै काठमाडौँ पुगेका जानकारी पाएका छौँ’, वडाध्यक्ष महतोले गोरखापत्रसँग भन्नुभयो, ‘लक डाउनकै बीच प्रहरीले  कडाइ गर्दागर्दै उनीहरू कसरी काठमाडौँ पुगे ? हामी पनि आश्चर्यमा परेका छौँ ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार बिहान गाउँकी युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएको विज्ञप्ति प्रकाशित गर्नासाथ गाउँभरिका मानिस युवतीको घरमा पुगेका थिए । पछि प्रहरी पुगेर स्थानीयको भिड हटाएर युवतीको घर रहेको क्षेत्र सिल गरेको छ ।

यहाँ हुँदैदेखि खोकी लाग्न थालेपछि युवतीले काठमाडौँ पुगेर कोरोना परीक्षण गराएको परिवारका सदस्यमार्फत् खबर पाएको वडाध्यक्ष महत्ताेले बताउनुभयो । होली मनाउन गाउँ आएकी सङ्क्रमित युवतीको परिवार काठमाडौँ नै बस्छन् । रामनगरमा युवतीका हजुरबुवा, हजुर आमा, काका, काकी र काका काकीका छोराछोरीसहित १४/१५ जना बस्दैआएका गाउँलेले बताएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सङ्क्रमित युवतीका बारेमा थप बुझ्ने काम भइरहेको बताउनुभयो । ‘घर यहाँ भए पनि उहाँहरू काठमाडौँको कपन र जडिबुटी दुई ठाउँमा बस्दैआएको प्रारम्भिक जानकारी पाएका छौँ’, प्रजिअ जिसीले गोरखापत्रसँग भन्नुभयो, ‘यसबारेमा थप बुझ्न हामी रामनगर जाँदै छौँ ।’

जिल्लाको दक्षिणपश्चिम भेगस्थित बाग्मती नदीको किनारमा पर्ने रामनगर गाउँपालिका सदरमुकाम मलङ्गवादेखि झण्डै २२ किलोमिटर टाढा पर्छ । त्यहाँ लकडाउन अर्थात बन्दाबन्दीको पालना नभएको गुनासो बारम्बार आइरहेको थियो । गाउँका मानिस जथाभावी हिँड्डुल गर्ने र गाउँपालिकाभित्रका सिसौट, खैर्बा र ईनर्वा बजारमा नियमितजसो निकै भिडभाड लाग्दै आएको स्थानीय शिक्षक रामपवित्र साहले जानकारी दिनुभयो ।

सर्लाहीमा हालसम्म धनकौल गाउँपालिका–५, हरकठवागोठका १४ वर्षीय बालक, हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीका मानसिक सन्तुलन ठीक नभएका ४५ वर्षीय पुरुष र रामनगर गाउँपालिका–४, बहुअर्वाकी १८ वर्षीया युवती गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये बालकको वीरगञ्ज र पुरुषको जनकपुरमा उपचार भइरहेको छ भने युवती काठमाण्डौँमै छिन् ।

गत मङ्गलबार हरिपूर्वाका पुरुषमा सङ्क्रमण पुष्टि भएपछि बुधबार उहाँको परिवारका सदस्य, सम्पर्कमा आएका व्यक्ति, केही छरछिमेकी र नगरपालिकाले क्वारेन्टाइनमा राखेका चार जनासमेत गरी ३० जनाको थ्रोट स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनकपुर पठाइएको छ । उहाँहरूको रिपोर्ट आउन बाँकी छ । गोरखापत्र अनलाइर्नको सहयोगमा


प्रकाशित | ३ जेष्ठ २०७७, शनिबार २०:३०