जाडोमा यस्ता खानेकुराले बनाउँछ चुस्त दुरुस्त !

काठमाडौँ । धेरैजसो मानिसहरुलाई दिनभरी कुनै न कुनै बेला थकान महसुस हुन्छ । शरीरमा ऊर्जाको कमीका कारण यसको असर दैनिक कामकाजमा समेत पर्छ । तपाईं के र कति मात्रामा खानुहुन्छ यसको असर पनि पूरा दिनको क्रियाकलापमा पर्छ । खानपिनका केही कुराले पोषक तत्वका साथै शरीरलाई तुरुन्त ऊर्जा दिने काम पनि गर्छ । आउनुहोस्, आज त्यस्ता खानेकुराबारे कुरा गरौं जुन खाँदा तपाईं दिनभरी सक्रिय रहनुहुनेछ ।

केराः
ऊर्जाका लागि केरा सबैभन्दा राम्रो खाना मानिन्छ । केरा कार्ब्स, पोटासियम र भिटामिन बीसिक्सको निकै राम्रो स्रोत हो । यी सबै तत्वले शरीरमा ऊर्जाको स्तर बढाउने गर्छ ।

शख्खरखण्डः
स्वादिष्ट हुनुका साथै सख्खरखण्डले शरीरमा ऊर्जा बढाउने काम पनि गर्छ । एक कप सख्खरखण्डमा २५ ग्राम कार्ब्स, ३.१ ग्राम फाइबर, २५ प्रतिशत म्यागनिज र भिटामिन ए को राम्रो मात्रा हुन्छ । सख्खरखण्डमा पाइने फाइबर र कार्ब्सलाई पचाउन समय लाग्छ त्यसैले यो खाना खाएको धेरै पछिसम्म पनि शरीर सक्रिय रहन्छ ।

अण्डाः
अण्डा ऊर्जाको सबैभन्दा राम्रो स्रोत मानिन्छ । अण्डा प्रोटिनले भरपुर हुन्छ जसका कारण तपाईंले पूरा दिन ऊर्जावान् महसुस गर्नुहुन्छ । यसका साथै अण्डामा पाइने अमिनो एसिड ल्यूसिनले पनि थुप्रै तरिकाले शरीरलाई ऊर्जा प्रदान गर्ने काम गर्छ । अण्डामा पाइने भिटामिन बीले खानालाई ऊर्जालाई परिवर्तन गर्ने काम पनि गर्छ ।

स्याउः
स्याउमा कार्ब्स र फाइबर भरपुर मात्रामा पाइन्छ । मध्यम आकारको स्याउमा लगभग १४ ग्राम कार्ब्स, १० ग्राम सुगर र २.१ ग्राम फाइबर पाइन्छ । यसमा पाइने प्राकृतिक सुगर र फाइबरले शरीरमा ऊर्जाको स्तर बिस्तारै बढाउने काम गर्छ र शरीर लामो समयसम्म ऊर्जावान् रहन्छ । स्याउमा एन्टिअक्सिडेन्ट पनि राम्रो मात्रामा हुन्छ, यसले पनि शरीरलाई ऊर्जा दिने काम गर्छ ।

डार्क चकलेटः
साधारण र मिल्क चकलेटको तुलनामा डार्क चकलेटमा कोको अलि बढि पाइन्छ । कोकोमा पाइने एन्टिअक्सिडेन्टले रक्त सञ्चार बढाउनुका साथै शरीरलाई विभिन्न तरिकाले फाइदा पुर्याउँछ । यसले दिमाग र मांसपेशीको कार्यक्षमता पनि बढाउने गर्छ । डार्क चकलेटले शारीरिक साथै मानसिक थकानलाई पनि टाढा राख्छ र मुड पनि राम्रो बनाउँछ ।

चुकन्दरः
चुकन्दरले पनि शरीरमा ऊर्जाको स्तर बढाउने काम गर्छ । शोधमा पत्ता लागे अनुसार चुकन्दरमा पाइने एन्टिअक्सिडेन्टले रक्त सञ्चारलाई तीब्र बनाउँछ । चुकन्दरमा पाइने नाइट्रेटले शरीरमा नाइट्रिक अक्साइड बढाउँछ । यसका कारण तन्तुले बढी अक्सिजन पाउँछन् त्यसैले शरीरमा ऊर्जाको स्तर बढ्ने गर्छ ।

ओटमिलः
ओटमिलले शरीरलाई अत्यधिक फाइदा पुर्याउने गर्छ । यो खाएको धेरै बेरसम्म पनि तपाईंले ऊर्जावान् महसुस गर्नुहुन्छ । यसमा बिटा ग्लूकान नामको घुलनशील फाइबर हुन्छ जुन पानीसँग मिलेर शरीरभित्र एउटा गाढा जेल बनाउने काम गर्छ । पाचन तन्त्रमा यो जेल हुने भएकोले चाँडै भोक पनि लाग्दैन । ओटमिल भिटामिन र मिनरल्सले भरपुर हुन्छ जसले शरीरमा ऊर्जा बढाउने काम गर्छ ।

कफीः
धेरै मानिसहरु थकान उतार्न र मुड राम्रो बनाउनका लागि कफी पिउँछन् । कफीले तुरुन्त ऊर्जा दिने काम गर्छ । कफीमा पाइने क्याफिनले स्नायू प्रणालीलाई शान्त पार्ने काम गर्छ । कफी पिउँदा शरीरमा एपिनेफ्रिन हर्मोन बन्द जसले शरीर र दिमागलाई क्रियाशिल बनाउँछ । कफी पिउँदा सुस्तता हट्छ । यद्यपि, यसको बढी सेवनले शरीरलाई हानी पुर्याउने गर्छ ।

ब्राउन राइसः
ब्राउन राइसमा पोषक तत्व भरपूर मात्रामा पाइन्छ । सेतो चामलको तुलनामा यो कम प्रोसेस्ड हुन्छ । यसमा फाइबर, भिटामिन र मिनरल्स बढी पाइन्छ । आधा कप ब्राउन राइसमा २ ग्राम फाइबर र राम्रो मात्रामा म्यागनिज पाइन्छ, यसले कार्बोहाइड्रेट र प्रोटिनलाई ऊर्जामा बदल्ने काम गर्छ । ब्राउन राइसले ब्लड सुगर पनि नियन्त्रणमा रहन्छ ।

स्ट्रबेरीः
स्ट्रबेरीलाई राम्रो र ऊर्जा बढाउने फल मानिन्छ । स्ट्रबेरी खाँदा शरीरले कार्ब्स, फाइबर र सुगर पाउँछ जसले तपाईंको ऊर्जाको स्तरलाई थप बढाउने काम गर्छ । एक कप स्ट्रबेरीमा १३ ग्राम कार्ब्स, ३ ग्राम फाइबर र भिटामिन सीको राम्रो मात्रा हुन्छ । स्ट्रबेरी खाँदा थकान पनि हट्छ ।


प्रकाशित | ३ पुष २०७७, शुक्रबार १५:४२