स्वारेजले कोपा अमेरिकाकप गुमाउने सम्भावना

एजेन्सी: स्पेनिस बार्सिलोनाका उरुग्वेन फरवार्ड लुइस स्वारेजले यो सिजनलाई बिदा गरेका छन् । चोटका कारण ३२ वर्षीय फरवार्डले यो सिजनका बाँकी सबै खेल गुमाउने भएका हुन् ।३ दिनअघि युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस टोली लिभरपुलविरुद्ध अवे मैदानमा खेल्नेक्रममा स्वारेज घाइते भएका थिए । सो खेलमा स्वारेजले पूरा समय खेले पनि चेकजाँचपछि उनको घुँडाको जोर्नीमा समस्या भएको पुष्टि भएको हो ।

क्लब बार्सिलोनाले अफिसियल रूपमा विज्ञप्ति जारी गर्दै आफ्ना खेलाडीको घुँडाको अप्रेसन गर्ने तयारी भइरहेको पुष्टि गरेको छ । बार्सिलोनाले आफ्ना क्लबको मेडिकल टिमको निगरानीमा स्वारेजको घुँडाको अप्रेसन हुने बनाएको छ ।

एनफिल्डमा खराब प्रदर्शन गरेका स्वारेजको त्यसपछि चर्को आलोचना भएको थियो । सो खेलमा उनले ठीकठाक खेले पनि खेलपछि उनी घाइते भएको पुष्टि भएको थियो ।बार्सिलोनाले स्वारेज कहिलेसम्म ठीक हुन्छन् भनेर अवधि नतोके पनि उनी अब अर्को सिजन खेल्न मात्रै मैदान फर्किनेछन् । यससँगै स्वारजेले बार्सिलोनाले खेल्ने कोपा डेल रे फुटबलको फाइनल खेल गुमाउने पक्का भएको छ ।

त्यत्ति मात्रै हैन, स्वारेजले राष्ट्रिय टिम उरुग्वेबाट खेल्ने कोपा अमेरिकाकपसमेत गुमाउने सम्भावना बढी छ । सो प्रतियोगिता आगामी जुन १४ बाट हुँदैछ ।कोपा अमेरिका सुरु हुन अब करिब एक महनिा मात्रै बाँकी छ । तर, स्वारेजलाई घुँडाको अप्रेसनपछि सामान्य अवस्थामा फर्किन २ महिनासम्म लाग्नसक्ने बताइएको छ ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार १२:५७