कोरोना बीमाको भुक्तानी तीन दिनभित्र गर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना बीमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीको भुक्तानी तीन दिनभित्र दिन निर्देशन दिएको हो । मन्त्रालयले बीमा समितिलाई पत्र लेख्दै बीमा दाबी भुक्तानी गरेको विवरण दैनिकरूपमा जानकारी गराउन पनि निर्देशन दिएको छ ।

भेरिफिकेशन गर्न बाँकी दाबीको भेरीफिकेशन यथाशीघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन गरेको छ ।

मन्त्रालयले कोरोना बीमाको हालसम्मको दाबी सङ्ख्या, कागजात पूरा भएका दाबी सङ्ख्या, भेरीफिकेशनका लागि स्वास्थ सेवा विभागमा पठाएको सङ्ख्या, भेरीफिकेशन नभएका वा नक्कली दाबीको विवरण र दाबी भुक्तानीको विवरण तथा सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकीको विवरण नियमित सार्वजनिक गर्न पनि निर्देशन दिएको छ ।


प्रकाशित | १८ मंसिर २०७७, बिहीबार १९:४८