‘प्रचण्डको प्रस्ताव ‘लाञ्छना, आरोप, कुण्ठा र प्रतिशोध’को पोका, सचिवालय बैठकमा छलफल हुनै सक्दैन’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले ‘लाञ्छना र आरोपपत्र’को छलफल सचिवालय बैठकमा हुन नसक्ने भएकाले त्यसलाई फिर्ता लिनुपर्ने अडान राख्नुभएको छ ।

अध्यक्ष ओलीले सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको प्रस्ताव ‘लाञ्छना, आरोप, कुण्ठा र प्रतिशोध’को पोका मात्र भएकाले त्यसलाई फिर्ता लिएर सहमतिको बाटोबाट अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सचिवालय बैठक अगाडि बढाउन अर्का अध्यक्ष दाहाललाई आग्रह गर्नुहुँदै दाहालद्वारा प्रस्तुत कुण्ठा, आग्रह, पूर्वाग्रहसहितको आरोपपत्रलाई स्वीकार नगर्ने स्पष्ट पार्नुभयो ।

स्रोतका अनुसार अध्यक्ष ओलीले पार्टी सङ्गठन, विधान, विधि र प्रक्रिया विपरीत कुन बैठकको निर्णय अनुसार प्रस्ताव छापेर बाँडिएको हो भन्दै प्रश्न गर्नुभएको थियो ।

बैठकमा अध्यक्ष ओलीले पार्टीलाई विभाजन गर्ने बाटोतिर गतिविधि अगाडि बढाएकोमा आपत्ति प्रकट गर्नुहुँदै भन्नुभयो, “अनधिकृत रूपमा पार्टी कार्यालय र छापको दुरुपयोग गरी पुस्तक छापेर अनुशासन उल्लङ्घन गर्नेमाथि कारबाही किन नगर्ने ? ” अध्यक्ष ओलीले पार्टी एकतामा अगाडि बढ्ने हो भने सहमतिको बाटोबाट हिँड्नुपर्ने स्पष्ट पार्नुहुँदै भन्नुभयो, “पार्टी एकताको पक्षमा म आफ्नो बल र बर्कतले भ्याएसम्म लड्छु ।”

सचिवालयको आगामी बैठकका विषयमा छलफल हुँदा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफ्नो कार्यव्यस्तताका कारण उपस्थित हुन नसक्ने भएकाले बुधबार बैठक नराख्न भन्नुभएको थियो । यो समाचार आजको गोरखापत्र दैनीकमा प्रकाशित छ ।


प्रकाशित | १७ मंसिर २०७७, बुधबार ०९:२१