सिद्धार्थ राजमार्ग दैनिक चार घण्टा बन्द हुने

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत बर्तुङ–बुटवल सडकखण्ड कालोपत्र गर्न आइतबारदेखि दैनिक चार घण्टा यातायात बन्द गरिएको छ ।
बिहीबारसम्म बिहान साढे १० बजेबाट दिउँसो साढे १२ बजे र दिउँसो २ बाट अपराह्न ४ बजेसम्म सडक बन्द रहने सडक डिभिजनले जनाएको छ । राजमार्गअन्तर्गत झुम्सा–दोभान सडक खण्डमा कालोपत्र गर्न लागिएको हो ।

अघिल्लो आर्थिक वर्षमै काण्ठमण्डप र तिरुपति जेभीले कालोपत्रका लागि ठेक्का लिएको थियो । कोभिड–१९ को कारण देखाएर कामका लागि म्याद थप भएको छ । झन्डै ५ करोड लागतमा ३ हजार ६ सय मिटर कालोपत्रका लागि ठेक्का भएको हो । निर्माण व्यवसायीले भ्याटबाहेक ३ करोड ८७ लाखमा ठेक्का सम्झौता गरेको सडक डिभिजनका सूचना अधिकारी बताए ।

राजमार्गको झुम्सापुलदेखि दोभानसम्मको १ हजार ५ सय मिटर पहिलो चरणमा कालोपत्र हुनेछ । झुम्सादेखि बुटवल सडक खण्डमा चुनढुंगा ढुवानी गर्ने दैनिक ८ सयभन्दा बढी ट्रिपर सञ्चालन हुन्छन् ।


प्रकाशित | १५ मंसिर २०७७, सोमबार १०:५५