आज एकैपटक ३ सय ९६ वटा स्थानीय तहमा अस्पताल शिलान्यास गरिदैं

काठमाडौं । आज देशभर एकैपटक ३ सय ९६ वटा आधारभूत अस्पताल शिलान्यास गरिर्दैछ । साथै सातवटै प्रदेशमा एक–एक सरुवा रोग अस्पतालको पनि आजै शिलान्यास गरिने कार्यक्रम छ ।

आज अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा सम्बन्धित क्षेत्रका सांसद र स्थानीय तहका प्रमुखले अस्पतालको शिलान्यास गर्ने कार्यक्रम छ।

स्थानीय तहमा अस्पताल नभएका ६४९ मध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गरिन लागिएको हो । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको शिलान्यास गरिन लागिएको हो ।

आज शिलान्यास हुने अस्पताल दुई वर्षभित्रै सञ्चालनमा ल्याइनेछ । आज शिलान्यास हुने अस्पताल ५, १० र १५ शय्याका हुनेछन्।

अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पाँच शय्याका ५२, १० शय्याका एक सय नौ र १५ शय्याका ३५ अस्पताल बनाइने छ ।

प्रदेश १ मा ८६ आधारभूत अस्पताल निर्माण गरिनेछ। त्यसैगरी, लुम्बिनी प्रदेशमा ५७, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३र ५३, बागमती प्रदेशमा ५१ र कर्णालीमा ४२ वटा स्थानीय तहमा अस्पताल बनाइने छ।

अस्पताल भवन निर्माणका लागि यो वर्ष सरकारले ६ अर्ब १२ करोड २६ लाख निकासा गरेको छ। अस्पताल निर्माण र उपकरण जडान गर्दा ५८ अर्ब खर्च हुने अनुमान गरिएको छ। अस्पतालका लागि अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख रुपैयाँ बराबरको स्रोतसमेत सुनिश्चित गरिसकेको छ ।


प्रकाशित | १५ मंसिर २०७७, सोमबार ०८:५०