भीडभाड नगरी होली पर्व घरमै मनाउन स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै होली पर्व घरमै मनाउन आग्रह गरेको छ । कोरोना भाइरस संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो ।

बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोनाको जोखिम बढेको हुँदा सुरक्षा सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

‘पछिल्लो केही दिन यता संक्रमणको संख्या बढेको छ । कोरोनाको जोखिम बढेको हुँदा होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं,’ उहाँले भन्नुभयो । उहाँले संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा थप कडाइ गर्ने जानकारी दिनुभयो ।

मन्त्रालयकाअनुसार मुलुकमा पछिल्लो २४ घन्टामा १४५ संक्रमित थपिएका छन् । ३ हजार ९६३ पीसीआर परिक्षण हुँदा १४५ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा ९० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म कूल संक्रमित संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ भने मृतक संख्या ३०२० पुगेको छ । हाल नेपालमा १ हजार १८३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित | ११ चैत्र २०७७, बुधबार १८:५५