कोरोनालाई चाँडै जितेर नगरपालिकाको नियमीत काममा फर्किनेछु : मेयर बासुदेव थापा

भक्तपुर। सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले चाँडै कोरोना संक्रमणमुक्त भएर नगरपालिकाको नियमीत काममा फर्किने बताउनुभएको छ । नगरपालिकाका मेयर थापाले आफूलाई खासै लक्षण नदेखिएको र स्वास्थ्य स्थिति सामान्य रहेको भन्दै चाँडै कोरोनालाई जितेर नगरपालिकाको नियमीत काममा फर्किने बताउनुभएको हो । मेयर थापाको कोरोना परिक्षणको क्रममा आज प्रोजेटिभ देखिएको हो ।

कोरोना कहरकाबीच पनि अहोरात्र विकास निर्माणको कार्यमा खटदै चैत मसान्त अगावै सबै विकासका योजना सम्पन्न गर्न लागिपरिरहनु भएको मेयर थापाले कोरोना संक्रमित भएसँगै विश्व सन्देशसँग कुराकानी गर्नुहुँदै केहि समयको आराम सँगै कोरोनालाई जितेर नगरपालिकाको काममा फर्किने बताउनुभयो ।

होम आइसोलेसनबाटै नगरप्रमुख थापाले भन्नुभयो, ‘गत बिहीबार साँझ म घर पुगेपछि हल्का ज्वरोको महसुस भयो, शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो, हालसम्म पनि हल्का ज्वरोबाहेक अरु समस्या देखिएको छैन । केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’

त्यस्तै, मेयर थापाले आफूसँग सम्पर्कमा आएकालाई परीक्षण गर्न र सचेत रहन पनि आग्रह गर्नुभएको छ। मेयर थापा नगरपालिकामा कोरोना सङ्क्रमण रोक्न र सङ्क्रमितको व्यवस्थापनमा घुम्ती स्वाब सङ्कलनदेखि निशुल्क कोरोना परिक्षणमा अहोरात्र खटिनुभएको थियो ।

त्यसैगरी, उपत्यका नगरपालिका फोरमले आज एक विज्ञप्ति जारी गर्दै फोरमका सदस्य एवं सूर्यविनायक नगरपालिकाका प्रमुख थापाको शीघ्र स्वाथ्यलाभको कामना गरेको छ ।

फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य, उपाध्यक्ष चिरीबाबु महर्जन र सचिव मदनसुन्दर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना नगरवासीलाई कोरोनाबाट जोगाउन कर्तव्यबोधका साथ अहोरात्र खटिने क्रममा नगरप्रमुख थापा आफैँ कोभिड–१९ बाट सङ्क्रमण हुनुभएकामा उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँसँग सम्पर्कमा आउनुभएका सचेत रहेर पिसीआर परीक्षण गर्न आग्रह गर्दछौँ ।’


प्रकाशित | १३ मंसिर २०७७, शनिबार २०:३२