कोरोनाविरुद्धको खोप प्रमाणित भएर आउने बित्तिकै नेपालीले प्रयोग गर्न पाउने गरी तयारी : मन्त्री ढकाल

काठमाडौं । सरकारले कोभिडविरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको बताएको छ । विश्व प्रति—जैविक सचेतना सप्ताहका अवशरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने बित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताउनुभएको हो ।

स्वास्थ्यमन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार अगाडी बढेको बताउनुभयो । अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिनहरु प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेश मार्फत कानून संशोधन गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस् भनेर कानूनी रुपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ । भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन सकियोस् भनेर कानूनी अप्ठ्यारो नपरोस् भनेर कानूनी बाटो खुला र सहज गरिएको हो । भ्याक्सिन अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्ने बित्तिकै नेपाली जनताले पनि प्रयोग गर्न सकियोस भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ ।’’


प्रकाशित | ९ मंसिर २०७७, मंगलवार १९:०३