कक्षा १२ को परीक्षा भोलीदेखि शूरु हुँदै, ढुक्क भएर परीक्षामा सहभागी हुन सरकारको आग्रह

काठमाण्डौ – कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको कक्षा १२ को परीक्षा भोली मंगलबारदेखि सुरु हुँदैछ । कोरोना कहरकाबीच भोलीदेखि परीक्षा हुन लागेको हो ।

कक्षा १२ को परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् । देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ ।

यस वर्ष परीक्षाको सिलसिलामा विद्यार्थीलाई कोभिड सङ्क्रमण पुष्टि भएर परीक्षामा सहभागी हुन नसक्ने अवस्था आएमा फेरि परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ ।

सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो । ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइनेछ । परीक्षा मंसिर १६ मा सकिनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क भएर सहभागि हुन आग्रह गर्नुभएको छ । मन्त्री पोखरेलले परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता मापदण्ड कडाइपूर्वक पालना हुने भएकाले ढुक्क हुन आग्रह गर्नुभयो ।

सरकारले सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ । हेल्थ डेस्कमा हात धुने र ज्वरो नाप्ने व्यवस्था हुनेछ । विद्यार्थी, निरीक्षक र परीक्षा केन्द्रमा रहने कर्मचारीले अनिवार्य मास्क लगाउनुपर्नेछ । एउटा कोठामा बढीमा २० जना परीक्षार्थी मात्र राख्न पाइनेछ । विद्यार्थीलाई दुई, दुई मिटरको दूरीमा मात्रै राख्नुपर्नेछ ।


प्रकाशित | ८ मंसिर २०७७, सोमबार १४:४१