‘विश्व युवा कविता प्रतियोगिता’ का लागि कविता आह्रवान, प्रथम हुनेलाई एक हजार डलर पुरस्कार

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए आइसिसी ) साहित्य, सस्कृति र सम्पदा प्रबद्र्धन समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को संयुक्त आयोजनामा हुन लागेको विश्व कविता प्रतियोगिताको लागि कविता आह्रवान गरिएको छ । आगामी सरस्वती पुजाको वसन्त पञ्चमीको अबसरमा आयोजना हुन लागेको प्रतियोगिताको लागि कविता आह्रवान गरिएको हो ।

एनआरएनए साहित्य, सस्कृति र सम्पदा प्रबद्र्धन समितिका संयोजक हिक्मत थापाका अनुसार कविता बढीमा दुई सय शब्दसम्म र अप्रकाशित हुनुपर्नेछ, प्रतियोगितामा १९ वर्षसम्मका स्रष्टाले मात्र भाग लिन पाउनेछन् ।

त्यस्तै, नेपाल बाहिर बसेर लेख्ने सष्टाको रचना मात्र स्वीकार गरिने र आफू बस्ने देश र सम्पर्क नम्बर खुलाउनुपर्ने नियम छ । साथै एक जना स्रष्टाले एउटा मात्रै कविता पठाउन सकिनेछ भने कविताको शीर्षक र विषयवस्तु खुला रहनेछ । कविता डिसेम्बर २० तारिखसम्म तोकिएको ठेगानामा पठाउन सकिनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई १ हजार डलर, दोस्रो हुनेलाई ५ सय डलर, तृतीय हुनेलाई ३ सय डलरको पुरस्कारको ब्यवस्था गरिएको पनि संयोजक थापाले जानकारी गराउनुभयो ।

संयोजक थापाका अनुसार प्रतियोेगिता गैर आवासीय नेपालीका दोश्रो पुस्ताका युवाहरुलाई नेपाली भाषा तथा साहित्य प्रती आकर्षक गराउने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

सो प्रतियोगिताको संयोजन एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा (अनेसास ) का अन्तर्राष्ट्रिय महासचिव सर्बज्ञ बाग्लेले गर्नुभएको छ । । कविता balkabita1@gmail.com इमेलमा पठाउन सकिने जनाइएको छ ।


प्रकाशित | ६ मंसिर २०७७, शनिबार ०९:३२