कोरोना महामारीमा भक्तपुरको सडकमा कोही भोकै बस्नु परेको छैन : महेश बस्नेत

भक्तपुर – संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरको सडकमा कोही भोकै बस्नु नपरेको र बस्न पनि नदिने बताउनुभएको छ । भक्तपुर क्षेत्र नंं २ का सांसद समेत रहनु भएको बस्नेतले भक्तपुरमा कोराना महामारी सँगै आफूहरुले नियमीत रुपमा सडकका भोकाहरुलाई भोजन खुवाउने वन्दोवस्त गरिरहेको बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भक्तपुरमा आयोजना गरेको कोभिड–१९ ले पारेको प्रभाव र नागरिक समाज तथा सञ्चार जगतको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘कोभिड–१९ ले हाम्रो देशको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको छ, भक्तपुर अस्पताल, थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आइसियू, भेन्टिलेटरदेखि रोबर्ट नर्ससमेत व्यबस्था गरेको छ, जगातीमा सूर्यविनायक नगरपालिकाले अस्पताल बनाउदैछ’, नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले भन्नुभयो, ‘सरकारले देशको कुना कुनाका अस्पताल र स्वास्थ्य क्षेत्रमा आईसियूदेखि आवश्यक प्रबिधि र सेवा विस्तार भएको छ, त्यो सकारात्मक पक्ष हो ।’

कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका कावा अध्यक्ष जयराम थापाले देशको बिपत्तिमा गैससको भूमिका महत्वपूर्ण रहेको औल्याउनुभयो । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले अहिलेको समस्यामा शिक्षकको भूमिका गौण भएको र उनीहरुको भूमिका शून्य भएको बताउनुभयो । सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी बढी भएको बताउदै सञ्चार माध्यमले त्यसलाई चिर्नु पर्नेमा जोड दिनुभयो ।

चाँगुनारायण नगरपालिकाका महिला विकास अधिकृत निला घिमिरेले कोभिड–१९ ले कतिपयलाई छाक टार्नलाई समस्या परेको बताउदै मनोसामाजिक परामर्श अत्यावश्यक रहेको भनाइ राख्नुभयो ।

कार्यक्रममा इन्सेक वागमति प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले कोरोनाले शिक्षा, स्वास्थ्य, खाद्य र विकासमा पारेका असरकाबारेमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रमका सभापति एवं इन्सेक वाग्मति प्रदेशका संयोजक कृष्ण गौतमले नागरिक समाज एकिकृत ढंगले लाग्नु पर्नेमा जोड दिदै कोरोनाले शिक्षा, विकास, स्वास्थ्य र हिंसालाई निकै प्रभाव पारेको बताउनुभयो ।


प्रकाशित | २८ कार्तिक २०७७, शुक्रबार ०९:२७