वामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई मन्त्री बन्ने कानुनी बाटो खुला भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमविरुद्ध परेको संसद सदस्य अयोग्यतासम्बन्धि मुद्दाको आइतबार सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै मन्त्री बन्ने कानूनी बाटो खुला भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले गौतमलाई राष्ट्रियसभा सदस्यको हैसियतमा काम गर्न र मन्त्रिपरिषदमा सामेल हुन रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र बद्रिराज भट्टले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गर्नुभएको थियो ।

मन्त्री बन्न बाटो खुला भएसँगै गौतम मन्त्री बन्ने सम्भावना बलियो देखिएको छ । पछिल्लो समय नेकपाभित्र देखिएको विवाद गौतमलाई मन्त्री बनाएसँगै टुंगीने अड्कलबाजी पनि गरिन थालीएको छ ।


प्रकाशित | २६ कार्तिक २०७७, बुधबार १७:३१