विमानस्थलमा शंकास्पद यात्रुलाई सोधपुछ गर्न ‘आइसोलेसन रुम’

काठमाडौं : शंकास्पद कागजपत्र भएका व्यक्तिमाथि सोधपुछ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आइसोलेसन रुम’ बन्ने भएको छ । हाल त्यस्ता यात्रुसँग अध्यागमन डेस्कअगाडि नै सोधपुछ हुने गरेको छ । विकसित देशमा शंकास्पद यात्रुलाई सोधपुछ गर्न विशेष कक्ष बनाइएको हुन्छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार नेपालमा पनि त्यस्तै कक्ष बनाउन लागिएको हो । ‘आइसोलेसन रुम’ बनाउने प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । यो समाचार आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

भिजिट भिसाका नाममा मानव तस्करी हुने भएको विमानस्थलमा दिनहुँजसो अध्यागमन अधिकारी र यात्रुहरूबीच वादविवाद हुने गरेको छ । शंकास्पद भ्रमण लागेपछि अध्यागमन अधिकारीहरूले दैनिक रूपमा यात्रुलाई फर्काउने गरेका छन् । घुम्न तथा व्यापारसम्बन्धी कामकै लागि जान लागेकाहरूसमेत फर्काइने गरिएका छन् । त्यस्तै, कतिपय विदेशी नागरिक नक्कली पासपोर्ट तथा भिसा प्रयोग गरी नेपाल आउने गर्दछन् । उनीहरूको कागजपत्र शंकास्पद लागेपछि ‘आइसोलेसन रुम’मा लगेर अध्यागमन अधिकारीले सोधपुछ गर्ने गरेका छन् ।

त्यस्तै, विमानस्थलमा नक्कली कागजपत्र परीक्षणका लागि नक्कली कागजपत्र परीक्षण युनिटसमेत निर्माण हुने भएको छ । हाल विमानस्थलका कर्मचारीले नक्कली भिसा तथा पासपोर्टसमेत पत्ता लगाउन नसक्ने अवस्था छ । यस्तो समस्या समाधान गर्न अत्याधुनिक प्रविधिसहितको नयाँ युनिट स्थापना हुन लागेको हो । अध्यागमन विभागले पर्यटन वर्ष २०२० सुरु हुनुभन्दाअघि नै अध्यागमन कार्यालयलाई आधुनिकीकरण गर्ने प्रक्रिया अघि बढाएको छ ।


प्रकाशित | ७ श्रावण २०७६, मंगलवार ०९:३१