सबै विद्याथीलाई निःशुल्क सिमकार्ड वितरण गर्न दूर सञ्चार प्राधिकरणलाई निर्देशन

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय तहका सबै विद्यार्थीहरुलाई निःशुल्क सिमकार्ड तत्काल वितरण गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिनु भएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले देशभरका सामूदायिक विद्यालयहरुको पठनपाठन अनलाईनमार्फत् संचालन हुने गरी विद्यार्थीहरुलाई निःशुल्क सिमकार्ड वितरण गरी इन्टरनेटको तत्काल व्यवस्था गर्न प्राधिकरणलाई निर्देशन दिनु भएको हो ।

‘कोरोना भाईरस महामारीका कारण चालू शैक्षिक सत्रको पठनपाठन विद्यालय तहमा संचालन हुन सकेको छैन,’ मंगलबार अपरान्ह काठमाडौंको कमलादीस्थित प्राधिकरणको केन्द्रिय कार्यालयको अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले भन्नुभयो,‘देशभरका सामूदायिक विद्यालयहरुका विद्यार्थीलाई निःशुल्क सिमकार्डको व्यवस्था गरी अनलाईन कक्षा संचालनका लागि इन्टरनेट सेवाको व्यवस्था मिलाउन प्राधिकरणलाई आग्रह गर्दछु ।’

उहाँले हरेक वडा तह, स्वास्थ्य चौकीमा पनि इन्टरनेट सेवा विस्तार गर्न ढिलाई नगर्न प्राधिकरणलाई सचेत गराउनु भयो । इन्टरनेट सेवा सिंहदरबारमा समेत गुणस्तरीय नभएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसलाई गुणस्तरीय, सस्तो र भरपर्दो बनाउन प्राधिकरण र नेपाल टेलिकमले नयाँ कार्ययोजनाका साथ अघि बढनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

मन्त्री गुरुङले देशभर अप्टिकल फाइबर बिच्छ्याउने (सूचना महामार्ग) कार्यलाई तोकिएको समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने पनि बताउनुभएको छ । उहाँले देशैभर उच्च गतिको ब्रोडब्याड इन्टरनेको पहुँच पु¥याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ शुरु गरिएको सो परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सरकारका तर्फबाट सहयोग गर्ने बताउनुभएको हो ।

तीन वटा प्याकेजमा विभाजन गरी निर्माण शुरु गरिएको उक्त परियोजनामध्ये प्रदेश १, २ र बागमती तथा कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिच्छयाउने काम भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशमा फाइबर बिच्छ्याउने कार्य अगाडि बढ्न सकेको छैन ।

उक्त क्षेत्रमा फाइबर बिछ्याउने जिम्मेवारी पाएको युनाइटेड टेलिकमले तोकिएको सम्झौताअनुसार काम नगरेको भन्दै प्राधिकरणले ठेक्का रद्द गरे पनि सर्वोच्च अदालतले ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै काम अवरुद्ध भएको छ । “यो कसैको व्यक्तिगत हितका लागि हैन, समृद्ध नेपाल निर्माण गर्न शुरु गरिएको यस परियोजनामा कसैको असहयोग हुनु हुँदैन”, सर्वोच्चले तत्काल ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न प्राधिकरणलाई दिएको आदेशको प्रसङ्ग कोट्याउँदै मन्त्री गुरुङले भन्नुभयो ।

उहाँले सूचना प्रविधिको प्रयोग गरी भ्रामक सूचना दिने, व्यक्तिगत चरित्र हत्या गर्ने, समाजमा द्वन्द्व सिर्जना गर्ने भ्रमपूर्ण विषयवस्तु नियन्त्रण गर्ने कार्ययोजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिनुभयो । “दर्ता नभई सञ्चालनमा आएका सामाजिक सञ्जाललाई कसरी व्यवस्थित गर्न सकिन्छ ? सामाजिक सञ्जाललाई नियमन गर्नुपर्छ, विदेशमा बसेर नेपालका सम्बन्धमा भ्रामक अफवाह फैलाउने काम रोक्नुपर्छ”, मन्त्री गुरुङले भन्नु भयो ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कार्यसम्पादन सम्झौताअनुसारका काम तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिनुभयो । “निर्धारित लक्ष्य हासिल गर्न साधनस्रोत पर्याप्त छ, कोरोना भाइरसका कारण सम्पन्न भएन भन्न पाइँदैन, आवश्यक समन्वय गर्न मन्त्रालय तयार छ”, उहाँले भन्नुभयो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणको चालू आर्थिक वर्षको कार्यक्रम र बजेटबारे मन्त्री गुरुङलाई जानकारी गराउनु भएको थियो ।


प्रकाशित | २५ कार्तिक २०७७, मंगलवार १९:१५