संक्रमित स्वास्थ्यकर्मीको डायरी : छिट्टै कोरोना जित्ने छु, दसैं त मिस भयो, तिहार मिस गर्ने छैन

सुष्मा श्रेष्ठ 

रेडियोमा दसैंको सुमधुर मंगल धुनका साथै दसैं–तिहारका शुभकामना सन्देशहरु बज्न थालिसकेका थिए। बजारमा किनमेल गर्नेको भीड पनि दिन प्रतिदिन बाक्लिँदै थियो। ‘दसैं लागिसक्यो, तँ कहिले आउछेस् घर?’, ममी सोध्नुहुन्थ्यो। ‘फूलपातीको अघिल्लो दिन आइपुग्छ’ु, म ढुक्क बनाइदिन्थें। ओहो! अबको एक हप्तामा त घर पुगिन्छ। निकै उत्साहित थिएँ म।

मेरो नाम सुष्मा श्रेष्ठ। घर काभ्रेको कुन्तावेशीमा जन्मिएँ अनि काठमाडौँमा हुर्किएँ। मध्यमवर्गीय परिवारकी कान्छी छोरी। बाजे, बज्यै, बुबा, आमाको लाडप्यारमा दाइ र दिदीसँग खेल्दै, लड्दै र झगडा गर्दै हुर्केकी। 

बुबा–आमाले शिक्षाको महत्व राम्ररी बुझ्नु भएकोले मलाई पढाइलेखाइमा सधैँ उत्प्रेरित गर्नुभयो। मैले लगातार पढ्दै गएर जनस्वास्थ्यमा स्नातक (बिपिएच) सकेँ। यही बीचमा रोट्र्याक्ट क्लब जस्ता सामाजिक संस्थामा पनि काम गरेँ, सामाजिक अभियानमा सहभागी भएँ। विपिएच पढिसकेपछि पनि सामाजिक सेवामा निरन्तर लागिरहेँ र स्वयंसेवी भएर पनि काम गरेँ। यसै क्रममा मेरी स्टोप्स इन्टरनेसनल नेपालको सुनौला परिवार नेपालमा जिल्ला कार्यक्रम अधिकृत भएर दैलेख जाने मौका मिल्यो।

मैले घरमा यो कुरा बताउँदा सबै जनाले पिर मान्नुभयो ।उहाँहरुले मलाई सानै देख्नु भएको थियो। सहरी वातावरण जन्मेहुर्केकी केटी म कसरी त्यति परको जिल्लामा एक्लै काम गर्न सकुँला। नेवारी परिवारमा जन्मेको म त्यहाँका फरक जाति, जनजातिसित कसरी भिज्न सकुँला भनेर उहाँहरु सबैको चिन्ता थियो।

तर, जनस्वास्थ्यको विद्यार्थी भएर मैले समग्र देशका समुदायको बारेमा धेरथोर जानकारी लिएकी थिएँ। सामाजिक संस्थामा काम गर्दा गरिब दुःखीहरुको जीवन नजिकबाट हेरेकी थिएँ। मलाई आफू भौतिक रुपमा नपुगे पनि सञ्चार माध्यमको विकासले गर्दा देशका हरेक भाग पुगे जस्तो लाग्थ्यो।

अनि फेरि देश दर्शन गर्ने। आफ्नो देशको कुना–कन्दरा अवलोकन गर्ने र जति सकिन्छ गरिब दुःखीको सेवा गर्ने मनभित्र तीव्र चाहना त छँदै थियो। अहिले देश–दुनियाँ नघुमे कहिले घुम्ने अनि देशको जनस्वास्थ्यमा अहिले योगदान नगरे कहिले गर्र्ने भन्ने भाव मनमा आयो।

मैले मेरो घरका सबैलाई मेरो निर्णय सुनाएँ, ‘म दैलेख जान्छु। आखिर म आफ्नो ख्याल राख्न सक्ने भइसकेको छु, किन आत्तिनु हुन्छ? तपाइँहरुकी छोरी त अब सक्षम भइसकी, सानातिना दुःखलाई ह्यकुलाले दबाउन सक्ने।’

भन्न त भनेँ, तर मनमा कताकता एउटा त्रास पनि थियो।

बाबु–मामु लगायत सबैले भारी मनले बिदा गर्नुभयो। म दैलेख प्रस्थान गरेँ। 

नयाँ ठाउँ, नौला मान्छे, बोलीचाली, रहनसहन सबै नौलो।

तर, मेरो संस्थाले पनि मलाई त्यहाँ गर्नुपर्ने काम र जिम्मेवारीको बारेमा बुझायो र फिल्डका साथीहरुलाई त्यहाँ आवश्यक पर्ने सहयोग गर्न भन्यो। साथीहरुले आफ्नो माया–ममता र सहयोगद्वारा एक्लो महसुस हुन दिएनन्। गाउँपालिका, नगरपालिकामा काम गर्ने स्वास्थ्यकर्मी साथीहरु र अन्य साझेदार दाजुभाइ–दिदीबहिनीहरुले पनि मलाई राम्रो सहयोग गर्नुभयो।

सबैको सहयोगले म मेरो काममा म अभ्यस्त हुँदै गएको बेलामा संसारभर कोभिड–१९ को महामारी सुरु भयो। अन्य देशमा हुँदै नेपालमा पनि यो महामारी आइपुग्यो। 

तर एउटा  जिम्मेवार संंस्थाको जिम्मेवार कर्मचारी भएको कारण सरकारको सुरक्षा सम्बन्धी निर्देशनको पालना गर्दै जसरी सकिन्छ, त्यसरी नै आफ्नो काममा लागिरहेँ।

चैतको अन्तिम हप्ता देशव्यापी लकडाउन सुरु भएपछि म पनि घर आएँ।

तर घर आए पनि मेरो जिम्मेवारी सँगै थियो। घरमै बसेर पनि टेलिफोन, इमेल र अप्रत्यक्ष बैठकहरु मार्फत संस्था, समुदाय र कर्मचारीहरुसँग निरन्तर सम्पर्र्कमा रहेँ।

लकडाउनले गर्दा मेरी स्टोप्सद्वारा दिँदै आइरहेको परिवार नियोजनको सेवा तीन महीनासम्म पूर्ण रुपले ठप्प नै भएको थियो। र, भारतबाट वैदेशिक रोजगारीमा गएकाहरु प्।mर्किए लगत्तै परिवार नियोजन सेवाको माग पनि ह्वातै बढेको थियो। यस्तोमा सधैं कोरोना संक्रमणको डरले केही नगरी बस्न पनि त उचित थिएन। त्यसैले लकडाउन खुकुलो भएपछि म पनि परिवारले नजान गरेको आग्रहलाई नकारेर आफ्नो कार्यक्षेत्रमा फर्किएँ। सुरक्षाका विधिहरुलाई अपनाउँदै आफ्नो कामलाई निरन्तरता दिइयो।

नेपालका अन्य भागझैँ दैलेखमा पनि संक्रमण बढ्दै गयो। दिनदिनै मान्छेहरु मरेको समाचार आउन थाल्यो। 

मेरा आफन्त र साथीहरु पनि संक्रमित भएको सुनेर मन झसंग हुन्थ्यो। तर एउटा इमान्दार स्वास्थ्यकर्मीले यस्तो बेला आफ्नो कर्तव्यबाट विचलित हुन हुँदैन भनेर काममा निरन्तर लागिरहेँ।

मनमा अलिकति त्रास आउँदा वित्तिकै कोभिड–१९ सँग जुधिरहेका तमाम स्वास्थ्यकर्मीको बारेमा सुनेका कुरा दिमागमा आउँथ्यो। त्यति बेला सानो दूधे बच्चालाई घरमै छोडेर लगातार महिनौंसम्म घरै आउन नपाई कोभिड–१९ का बिरामीको स्याहार गर्ने नर्सहरु, मास्क र पिपिई निरन्तर लगाएका कारण कारण नाकमा घाउ नै हँुदा पनि बिरामीको सेवा गर्न नछोडेका चिकित्सकहरु, महिनौँ कोरोनाको महामारीमा खटेको बेला घरबेटीले डेरामा ताल्चा लगाइदिएका जनस्वास्थ्यकर्मीहरु सबैलाई सम्झिन्थेँ।

अनि मलाई आफ्नो समुदायको सेवामा निरन्तर खटिने उत्प्रेरणा जाग्थ्यो।

कात्तिक २८ गते राति अचानक मेरो टाउको बेस्सरी दुख्यो, निदाउन खोजेँ राति समयसमयमा व्युँझिदा पनि दुखिरहेको हुन्थ्यो तर बिहान उठ्दा फ्रेस थिएँ। ल्यापटप र मोबाइलको धेरै प्रयोगले होला, पहिला पनि समय समयमा यस्तो हुन्थ्यो त्यसैले खासै वास्ता गरिएन। भोलिपल्ट बिहान उठ्दा फेरि जीउ नराम्रो गरी दुखिरहेको थियो। सुताई नमिलेर होला भन्ने भयो। पर्सि पल्ट जीउ दुख्न कम भई सञ्चो भयो तर सुख्खा खोकी र सामान्य रुघा लाग्यो, अब चाहिँ मन डरायो।

जिल्ला स्वास्थ्य सेवामा फोन गरेर बुझ्दा शनिबार स्वाब नलिने र आइतबार आउन भनियो। आइतबार बिहान स्वाब दिएँ। रिपोर्ट बेलुकासम्म आउने जानकारी दिइयो। बेलुका पहेन अञ्जनाजीसँग बुझ्दा रिपोर्ट पेन्डिङमा रहेको र पोजेटिभ आउने चान्स भएको थाहा पाएँ र भोलि पल्ट बेलुका पिसिआर टेस्ट पोजेटिभ भएको यकिन भयो।

हस्पिटलको आइसोलेसन पनि क्षमताभन्दा बाहिर भइसकेकोले म घरमै आइसोलेसनमा बस्ने सोचेँ। घरबेटीसँग एउटै परिवार जसरी बस्दै आएकोले उहाँहरुले पनि आपत्ति जनाउनु भएन। उहाँहरु स्वयं स्वास्थ्यकै कार्यकर्ता भएकोले पनि बुझ्नु हुन्थ्यो। बाथरुम, पानीको व्यवस्था स्वयं चाहिएको सामाग्री उपलब्ध गराउन सहज हुने भएकोले खासै समस्या हुने देखिएन।

बेलुका घरमा खबर गरेँ। दुई–चार दिनमा घर पुग्छे भनेर बाटो हेरी बस्नु भएको ममी चिन्तित हुनु निश्चित नै थियो। कोरोना पोजेटिभमा, त्यसमा पनि त्यति टाढा अर्काको ठाउँमा कतै केही भइाल्यो भने कसले हेर्छ? भनेर चिन्ता लिई रहनुभएको थियो। ‘मलाई केही हुँदैन। अब १४ दिन यहीँ एकान्तबास  बस्छु। आवश्यक परे मेरो कार्यालय अनि साथीहरु सबैले सहयोग गर्छन्। यसपालिको दसैँ मिस गर्ने भएँ, अरु केही पिर छैन। बरु बाबा अनि अरु सबैलाई सम्झाइदिनु होला’ भनेर सम्झाउँथे। उहाँहरु पनि खानापिनमा र आफ्नो स्वास्थ्यमा ध्यान दिनु भनिरहनुहुन्थ्यो।

भोलिपल्ट सँगै काम गरिरहेका दुई जना स्टाफलाई पनि स्वास्थ्य परीक्षण गर्न पठाएँ तर एक जनाको रिपोर्ट पोजेटिभ आयो, जो मसँगै फिल्डमा हिँड्नु भएको थियो। विगत ७–८ दिनदेखि हामी लगातार फिल्डमा थियौं। मास्क र सेनिटाइजर कहिल्यै छुटेन। सेवा दिने क्रममा पनि सबै प्रोटोकल अनुसार गरिन्थ्यो। डिस्टेन्स पनि मेन्टेन गरेकै हुन्थ्यो तर गाउँमा खाँदा–बस्दा, जस्तो छ त्यस्तैमा निर्वाह गर्नु पथ्र्यो। सबै सावधानी अपनाइरहँदा पनि कसरी संक्रमित भयौं हामी? आफैं अनभिज्ञ भयौं।

साथीहरु फोनमा भन्थे, ‘सबैलाई यस्तो गर्नुपर्छ, यस्तो गर्नुहुन्न भनी सिकाउने मान्छे आफू चाहिँ के हो?,’ अब केहो केहो नि! भाइरसले मान्छे नचिन्ने रहेछ त के गर्नु, मनमनै भन्थें, दसैं मनाउन घर जाने तयारीमा लागिरहेकी म, अकस्मात आइसोलेसनमा बस्नु परिरहेको थियो।

एक मनले सोच्थें, बरु परीक्षण नै नगरेको भए घर त जान पाउँथें। फेरि सोच्थें, होइन, यदि परीक्षण नगरेको भए मैले नजानेरै कति जनामा संक्रमण फैलाउँथे। घरमा ७५ वर्ष नाघेको बाजे, अजी हुन्थ्यो। मैले स्वास्थ्य परीक्षण गरेर ठिक गरें। सामान्य रुघाखोकी हो, निको भइहाल्छ भनेर वास्ता नगरेको भए झनै समस्या हुन्थ्यो। 

आइसोलेसनका दिनहरु बिहान उठ्ने, तातोपानी खाने, बेसारपानी खाने, बाफ लिने, सामान्य व्यायाम र श्वासप्रश्वासको व्यायाम गरेरै सुरु हुन्थ्यो। हरियो सागपात, गेडागुडीको झोल, तातोपानी र रोग प्रतिरोधात्मक शक्ति बढाउने खानाको मात्रा एकदम बढाएँ। डाक्टर साथीहरुको सल्लाह अनुसार भिटामिन र अन्य औषधिहरु पनि लिएँ। 

दैलेखमै कार्यरत अर्काे एक संस्थाको दाइलाई फोन गरेर म संक्रमित भएको कुरा बताएँ। उहाँले नआत्तिन भन्नुभयो र आकस्मिक अवस्थामा काम लाग्छ भनेर दैलेखमा रहेका चिकित्सक र अन्य आवश्यक  कर्मचारीहरुको नम्बर दिनुभयो। अनि विभिन्न स्वास्थ्य सम्बन्धी सल्लाहहरु दिनुभयो।

अनि उहाँले आफूलाई जतिसक्दो व्यस्त राख्नु भनी आफूले लेखेका साहित्यिक कराहरु पठाइदिनु भयो र मलाई पनि यसैगरी आफ्ना अनुभवहरु लेख्न सुझाव दिनुभयो। साथीहरु पनि “आफ्नो मनोबल उच्च राखेर खानपानमा ध्यान दिए चाँडै निको भइन्छ” भनी सान्त्वना दिइरहेका हुन्थे। 

दसैंको दिनमा भिडियो कलबाटै आशिर्वाद लिइरहँदा र फेसबुकमा सबैको टीका र जमरा लगाएको परिवारिक फोटो हेर्दा मनमा नराम्रो लाग्यो तापनि समय परिस्थिति यस्तै छ। यसरी नै चल्नुप¥यो भनेर चित्त बुझाएँ। आखिर म मात्र एक पनि त थिइनँ!

घरपरिवारसँग बारम्बार कुराकानी र आफ्नै विभिन्न कामहरुमा व्यस्त रहिरहँदा समय कटाउन खासै गाह्रो भएन। सोचिरहन्थें, मैले त सजग भएर समयमै परीक्षण गरें, आफूबाट अरुलाई संक्रमित हुनबाट जोगाएँ तर कति धेरै मान्छे होलान् जो कोरोनालाई सामान्य रुखाखोकी मानी वास्ता नगरेरै संक्रमण फैलाइरहेका होलान्। रोग प्रतिरोधात्मक शक्ति बलियो भएकाहरुलाई संक्रमण भए त यससँग लड्न सक्लान् तर वृद्ध, बच्चा, गर्भवती, सुत्केरी जसको रोगसँग लड्ने क्षमता कम हुन्छ, उनीहरुमा संक्रमण हुन गए पक्कै पनि अवस्था विकराल छ। त्यसैले आफू सजग हुनु अत्यन्तै जरुरी छ। रोगसँग डराउनु पर्छ तर आत्तिनु चाहिँ हुँदैन। परिवारको माया, साथी, आफन्त, प्रेरणा र आफ्नो नजिकका व्यक्तिहरुबाट उचित साथ र सहयोग पायो भने कोरोनासँग लड्ने मनोबल उच्च हुने र साहस मिल्दो रहेछ। 

१६औं दिनसम्मको आइसोलेसनपश्चात् स्वाद र बासना आउन थालेको साथै श्वासप्रश्वास सहज र खोकी निकै कम भएकोले रिपोर्ट नेगेटिभ आउने पूर्ण आशा सहित फेरि एक पटक स्वाब परीक्षणको लागि दिएँ। तर अफसोच रिपोर्ट पुनः पोजेटिभ नै आयो।

अब त दसैँ मात्रै होइन, तिहार पनि यस्तै हुने होकी भन्ने डर भयो। तर आशा छ, अब एक हप्तापछि चाहिँ रिपोर्ट नेगेटिभ आउने छ। मेरो मनोबल उच्च छ, म छिट्टै यो कोरोनालाई जित्ने छु भन्ने अठोट छ। मेरी आमाले पकाएको सेलरोटी मिस गर्ने छैन। तिहारलाई मिस गर्ने छैन। स्रोत- स्वास्थ्य खवर

प्रस्तुतिः रामहरि अधिकारी
 


प्रकाशित | २५ कार्तिक २०७७, मंगलवार ११:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!