एनआरएनए थाइल्याण्डका पूर्व अध्यक्ष रमेशकुमार हमाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त

काठमाण्डौ – सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई ४ वर्षको लागि धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट सरकारले हमाललाई नियुक्त गरेको हो । बोर्ड अध्यक्षको लागि १५ जनाको आवेदन परेको थियो ।

धनगढीका हमाल एनआरएन थाइल्याण्डका पूर्व अध्यक्ष (सन २००९-२०११)  र ग्रीन हेरिटेज ग्रुपका चिफ अपरेटिङ्ग अफिसर पनि हुनुहुन्छ । हमाल ६ वर्षअघि मात्र नेपाल फर्किनु भएको थियो । नेपाल फर्किए लगत्तै उहाँले थाइल्याण्डको चर्चित होटल ब्राण्ड दूषित थानीको चेन होटलको रुपमा काभ्रेमा पाँचतारे होटल निर्माण गरिरहनु भएको छ ।


प्रकाशित | ५ फाल्गुन २०७८, बिहीबार १८:१७