क्षणीक र स्वार्थपरक विवादभन्दा माथि उठ्न प्रधानमन्त्री ओलीको नेताहरुलाई आग्रह

‘पार्टी प्रमुखले नै प्रधानमन्त्री र सरकार चलाउँछु भन्ने ठान्नु गलत ‘

काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रमुखले प्रधानमन्त्री र सरकार चलाउँछु भन्ने नठान्न नेताहरुलाई आग्रह गर्नुभएको छ । सरकार संसदप्रति उत्तरदायी हुने र संसदले पास गरेका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा केन्द्रित हुने भन्दै पार्टी प्रमुखले प्रधानमन्त्री र सरकार चलाउँछु भन्ने नठान्न नेताहरुलाई आग्रह गर्नुभएको हो ।

पार्टीका कार्यकारी अध्यक्ष तथा शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीले पार्टी निर्णय कार्यान्वयन नगरेको र सहमति उल्लंघन गरिरहेको आरोप लगाइरहँदा ओलीले सो अभिब्यक्ती दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले एपी वान टेलिभिजनमा पत्रकार टिकाराम यात्रीसँगको अन्तर्वार्ताको क्रममा बोल्दै सबैको आ-आफनो भूमीका हुने भएकाले पार्टी प्रमुखले सरकार चलाउँछु भन्ने नठान्न आग्रह गर्नुभयो ।

‘सरकारले पार्टीको लागि भन्दा देश र जनताको स्वार्थलाई केन्द्रमा राखेर काम गर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारले राम्रो काम गर्यो भने जनतामा विश्वास पलाउँछ र पार्टीलाई सहयोग पुग्ने हो । तर पार्टी प्रमुखले नै प्रधानमन्त्री र सरकार चलाउँछु भन्ने ठान्नु गलत छ ।’

प्रधानमन्त्री ओलीले नेताहरुलाई गुटबन्दी त्याग्न आग्रह गर्नुहुँदै भन्नुभयो, ‘म प्रधानमन्त्री छँदै छु किन गुटबन्दी गर्नुपर्यो ? म प्रथम अध्यक्ष छँदैछु किन गुटबन्दी गुर्नपर्यो ? बरु मेरो अरु साथीलाई पनि आग्रह छ, गुटबन्दी नगर्नुहोस्।’ साथै ओलीले तत्कालीन, क्षणीक र स्वार्थपरक विवादभन्दा माथि उठ्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेताहरुले आफनो अभिभार, कामको जिम्मेवारी के हो ? अहिलेको समय परिस्थिति के हो ? हामीले के गर्नुपर्ने हो ? भनेर ख्याल गर्नुपर्नेमा आफू केन्द्रित आफनो महत्वकांक्षा, कुण्ठा, ईश्यालाई महत्व दिएर कर्तब्यलाई भुलेको पनि बताउनुभयो ।

ओलीले पार्टी एकीकरण भएदेखि नै आधा आधा पदमा सहमती गरेर अगाडि बढिरहेको तर प्रधानमन्त्री नै आधा आधा चाहियो भन्ने विषयले समस्या उत्पन्न गराएको पनि बताउनुभयो । आफूले आफना मान्छे भन्दा पार्टीभित्र अवसर नपाएका योग्य, सक्षम नेताहरुलाई अवसर दिएको र देश तथा जनताको पक्षमा काम गरेको पनि बताउनुभयो ।


प्रकाशित | २३ कार्तिक २०७७, आईतवार ०८:३०