प्रचण्डले बोलाएको सचिवालय बैठकमा ओलीसहित तीन मन्त्री किन भए अनुपस्थित ?

ओलीलाई बैठक बोलाउन आग्रह गर्ने निर्णय

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड ) ले बोलाएको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य तीन मन्त्री अनुपस्थित हुनुभएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीसहित महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुनुभएन ।

शुक्रबारको छलफलमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुभएको थियो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकै सहमतिमा अनौपचारिक छलफल गरिएको हो । बैठकले शनिबार ओलीलाई भेटेर सहमतिको आधारमा जतिसक्दो छिटो बैठक डाक्न आग्रह गरिने प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो ।

बैठकमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक बैठकको आयोजना गरियो भने त्यो नै फुटको घोषणाको बिन्दु हुने बताउनुभएको थियो । सोहीअनुसार आफूले अनौपचारिक रुपमा बैठक बोलाएको स्पष्ट पार्नुभयो ।

त्यस्तै, नेकपाका महासचिव विष्णु पौडेलले प्रचण्डले आह्रवान गरिएको सचिवालय बैठकको विषयमा आफूलाई जानकारी नभएको बताउनुभएको थियो भने प्रचण्ड पक्षका गृहमन्त्री थापाले समेत गुटगत भेलामा सहभागि नहुने स्पष्ट पार्नुभएको थियो ।


प्रकाशित | २१ कार्तिक २०७७, शुक्रबार १८:१८