कुनै पनि हालतमा राजीनामा दिन्नँ, राजीनामा दिए मुलुक बर्बादीतिर जान्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा दिन लागेको भनी बेलाबेलामा गलत प्रचार हुने गरेको र त्यस्तो भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ । यो बेलामा आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले
बुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा भन्नुभयो, बेलाबेला मैले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको छ, त्यस्तो गलत प्रचार र भ्रममा नपर्नुस । तपाईंहरु ढुक्कले काममा लाग्नुस् ।’

ओलीले आफू जनताको आवश्यकता र समर्थनबाट प्रधानमन्त्री बनेको बताउँदै केहीलाई देशलाई अस्थिरतातिर धकेल्न र भित्र बाहिरबाट हटाउने कोशिस भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘म यस ठाउँमा आएको मेरा रहरले होइन जनताको आवश्यकता र समर्थनले हो । यहाँ पुर्‍याएको म जालझेल तिकडमबाट होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईहरु ढुक्क भएर काममा लाग्नुस् । यो सरकार फेरिन्छ कि बदलिन्छ कि धेरैले धेरैपल्ट धेरै प्रकारका कोशिसहरु गरे । भित्र, बाहिर अनेकथरिका कोशिसहरु आए । जेमा पनि आलोचना गर्ने, जेमा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृतिहरु छन् त्यसबाट प्रभावित नहौं ।’

उहाँले भन्नुभयो ‘तपाईहरु विचार गर्नुस् के अहिले मैले राजीना दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरा लागि होइन देशका लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन् । त्यो मैले दोहोर्‍याएर भनेको छु फेरी केहीले खोइत राजीनमा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीभित्रै प्रधानमन्त्री ओलीलाई हटाउन अविश्वासको प्रस्तावदेखि पार्टी बैठकको बहुमतबाटै हटाउने खेल भइरहेको जानकारी पाएपछि यसअघि प्रधानमन्त्री ओलीले अर्को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई मिल्न नसके सल्लाहै गरेर छुटिन आग्रह गर्नुभएको थियो । त्यसपछि नेकपाभित्रको राजनीतिक घटनाक्रम पार्टी विभाजनसम्म पुगेको हो ।


प्रकाशित | १९ कार्तिक २०७७, बुधबार १५:२६