फुटेर होइन जुटेर सहयोगी भावनाले काम गरौ, कोरोना विरुद्धको लडाई सफल पारौं : सोनाम लामा

सोनाम लामा, उपाध्यक्ष- गैर आवासीय नेपाली संघ

विश्वभरि रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजु भाई तथा दिदि बहिनीहरुमा नमस्कार ।

यतिखेर विश्वब्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) ले विश्व आक्रान्त छ । मानव जातीकै लागि सबैभन्दा ठूलो चुनौतीको रुपमा आएको यस महामारीले विश्व जगत नराम्ररी प्रभावीत भइरहेको छ । कोरोनाले विश्वका विभिन्न देशमा बस्नुहुने गैर आवासीय नेपालीहरु समेत प्रत्यक्ष/अप्रत्यक्ष रुपमा प्रभावीत हुनु भएको छ ।

अहिले विश्वभरी महामारी फैलिरहेको कोरोनाले गैर आवासीय नेपालीमा प्रत्यक्ष असर पुर्‍याइरहँदा अमेरिकाबासी गैर आवासीय नेपालीमा भने यसले गहिरो चोट पुर्याएको छ । तपाई हामी बस्दैं आएको अमेरिका अहिले कोरोना संक्रमणले ग्रस्त छ । अमेरिकामा ठूलो मानवीय क्षति भइसकेको र अझै क्षति हुने क्रम जारी छ । तत्काल नियन्त्रणमा आउँने संकेत नदेखिएको कोभिड–१९ को यो महामारीमा नेपाली समुदायका सदस्यहरुलाई पनि हामीले गुमाउनु परेको छ । अनाहक र असामयिक रुपमा हाम्रा सदस्यहरु गुमाउनु पर्दाको पिडाले यतिखेर अमेरिकामा रहेको हाम्रो नेपाली समुदाय निकैं मर्माहत भएको छ । अमेरिकाबाहेक यूके, कतारमा बसोबास गर्नुहुने नेपाली समुदायको सदस्यलाई समेत गुमाउनु परिरहेको निकै पीडादायी र दु:खद खवर छ भने विभिन्न देशमा नेपालीहरु संक्रमीत हुने क्रम समेत जारी रहेको देखिन्छ ।

यो अवस्थामा म अनाहकमा ज्यान गुमाउनुहुने हाम्रा नेपाली समुदायका सदस्यहरुप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । साथैं उपचार गराइरहनुभएका र कोभिड–१९ को संक्रमण देखा परेका सबैंको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु । विश्वभर रहनुभएका सम्पूर्ण नेपालीमा सुरक्षित भएर बस्न र आवश्यक सावधानी अपनाउन आग्रह गर्दै सबैंको सुस्वास्थ्यको समेत कामना गर्दछु ।

अहिले अमेरिकाको हाम्रो समुदायले कोभिड–१९ को ठूलो मार खेप्नुपरेको छ । कोभिड–१९ ले अमेरिकामा रहेका नेपाली विद्यार्थी देखि सबैंको जनजीवन प्रभावित बनेको छ । यसको असर अबको केही समयसम्म रहने र आगामी दिनमा अझ देखिदैं जाने सम्भावना छ । यो कठिन अवस्थामा हामी सबैं एक भएर एकले अर्कोलाई सहयोग गर्दै यो संकटलाई पार लगाउनुपर्ने अवस्था छ । यो बेला विना स्वार्थ हामीले सकेको ठाउँमा सहयोग गर्ने र हाम्रो समुदायमा कसैंलाई दु:ख पर्दा हामी सँगैं छौं भन्ने सन्देश दिन जरुरी छ । म अमेरिकावासी सबैंलाई एक भएर सहयोगी हात अघि बढाउन आग्रह गर्दछु ।

गैर आवासीय नेपाली संघ अमेरिकाले कोभिड–१९ लाई लिएर नेपाली समुदायलाई सचेतना दिने जस्ता निकै प्रशंसनीय कार्यहरु गरिरहेको छ । यो घडीमा गैर आवासीय नेपालीलाई पर्दा एनआरएनए छ भन्ने सन्देश दिन एनआरएनए अमेरिका सफल भएको छ भन्ने मलाई लागेको छ । यो अवस्थामा हामी सबैंले एनआरएनए अमेरिकाले बनाएको कोभिड–१९ राहत कोषलाई बढी भन्दा बढी मजबुत बनाउनु पर्दछ भन्ने मलाई लाग्दछ ।

एनआरएनए आइसिसीले अन्तराष्ट्रिय रुपमा कोष बनाइसकेको अवस्था छ भने एनआरएनए अमेरिकाले अमेरिकाबासी गैर आवासीय नेपालीको निम्ति सहयोग गर्न कोष बनाएर आर्थिक संकलन गरिरहेको छ । आइसिसीले कोविड–१९ उच्चस्तरीय समिति बनाएर काम गरिरहेको छ भने कोरोना महामारीको लागि आर्थिक संकलनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कोषाध्यक्ष श्री महेश श्रेष्ठको संयोजकत्वमा राहत कोषको उपसमिति निर्माण गरिसकेको छ । सो उपसमिति मेरो परोपकार तथा राहत विभाग अन्तर्गत रहेर बनाएको पनि यहाँहरुमा जानकारी गराउन चाहान्छु । विश्वभरि नै आइसिसीको तर्फबाट कोष संकलन गर्दै आवश्यक राहत तथा सहयोग गर्ने कार्य भइरहेको छ ।

यस विपत्तिको बेला अमेरिकाबासी तपाई हामी सबैंले हातेमालो गरेर सहयोग आवश्यकता पर्ने नेपालीलाई सहयोग गर्नका लागि एनआरएनए अमेरिकाले बनाएको कोषमा सहयोग गर्न समेत म सबैंमा अपिल गर्न चाहन्छु । अहिलेको आवश्यकता भनेको शक्ति र स्रोतलाई विभाजन गर्ने नभई सबैं शक्ति एक ठाउँमा लगाउने हो, त्यसका लागि विना स्वार्थ सहयोगको अभियानमा सबैं एक हुन पनि म सम्बन्धित सबैंमा आग्रह गर्दछु ।

अन्तमा, अहिले तपाई हामी सबैं सुरक्षित रुपमा बसौं, सकेको सहयोग गरौं, सहयोग गर्नका लागि समुदायमा आग्रह गरौं, हामी सबैं मिलेर कोभीड–१९ ले कम नेपालीमा असर गर्न सक्ने वातावरणको निर्माण गरौं । फुटेर होइन जुटेर सहयोगी भावनाले काम गरौ । कोरोना विरुद्धको लडाई सफल पारौं ।  धन्यवाद ।


प्रकाशित | २५ चैत्र २०७६, मंगलवार ०९:४४