भारतीय सेनाध्यक्ष नरवणे आज नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका लागि आज (बुधबार ) काठमाडौँ आउँदै हुनुहुन्छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा ‘मानार्थ महारथी (दर्जा) सम्मान’ ग्रहण गर्न भारतीय स्थलसेनाध्यक्ष नरवणे नेपाल आउन लाग्नुभएको हो ।

कात्तिक १९ देखि २१ गतेसम्मका लागि तय गरिएको तीन दिवसीय भ्रमण टोलीमा स्थलसेनाध्यक्ष नरवणेसहित चार सदस्यीय टोली रहने बताइएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाका परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारीबाट कात्तिक २० गते बिहीबार दिउँसो स्थलसेनाध्यक्ष नरवणेलाई विशेष कार्यक्रमका बीच नेपाली सेनाको ‘मानार्थ महारथी सम्मान’ प्रदान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग सेनाध्यक्षको शिष्टाचार भेट कार्यक्रम तय गरिएको छ । त्यसअघि उहाँले नेपाली सेनाका प्रधानसेनापति थापासँग शिष्टाचार भेटवार्ता र शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजमा अध्ययनरत शिक्षार्थी सैनिक अधिकृतहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कने जनाइएको छ ।


प्रकाशित | १९ कार्तिक २०७७, बुधबार ०९:३२