पार्टी एकता जोगाउन भूमिका खेल्न राष्ट्रपति भण्डारीको नेकपा उपाध्यक्ष गौतमलाई आग्रह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता जोगाउन भूमीका खेल्न राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेकपाका उपाध्यक्ष गौतमलाई शीतल निवास बोलाएर नेकपाभित्रको समस्याबारे छलफल गर्दै पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गर्नुभएको हो ।

पहिले पनि पार्टी एकता जोगाउन भूमिका खेल्दै आएको भन्दै यसपटक पनि एकता जोगाउनका लागि लाग्न राष्ट्रपतिले आग्रह गरेको नेकपा उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिनुभयो ।

गौतमको एकता गर्नेदेखि जोगाउनेसम्म भूमिका रहेको भन्दै प्रशंसा गरेकी राष्टपति भण्डारीले यसपटक स्थिति जटिल भन्दै विभाजन हुन नदिने गरी लाग्न आग्रह गर्नुभएको छ ।

जवाफमा उपाध्यक्ष गौतमले आफू पार्टी एकताको पक्षमा रहेको र त्यसका लागि फेरि पनि लाग्ने बताउनुभएको छ । पार्टीभित्र विधि, पद्धति बसाउनेदेखि एकता जोगाउने काममा लागिरहेको पनि गौतमले राष्टपतिलाई जानकारी गराउनुभएको छ ।


प्रकाशित | १८ कार्तिक २०७७, मंगलवार २०:१६