होमस्टे आन्तरिक पर्यटकले भरिभराउ

लमजुङ । लमजुङको ऐतिहासिक तथा पर्यटकीय गाउँ राइनासकोटमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । राइनास नगरपालिका–९ मा पर्ने राइनासकोट घुम्न र रमाउन आउने पर्यटकको सङ्ख्या दैनिक बढ्दो रहेको छ ।

दशैँलगत्तै गाउँ पर्यटकले भरिभराउ हुन थालेको स्थानीयले बताएका छन् । राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष खड्कबहादुर गुरुङका अनुसार यो समय गाउँमा आउने पर्यटकको सङ्ख्या बढ्दो छ । दशैँ बिदामा रहेका र बन्दाबन्दीका कारण घरमै बसेकाहरू राइनासकोट आएर घुम्ने गरेका छन् ।

कोरोनाका कारण बस्ने व्यवस्था नभएकाले पर्यटक बिहान आएर दिनभर घुम्ने र बेलुका फर्कने गरेका छन् । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको जोखिम भएकाले उनीहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र गाउँमा घुम्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

यो समय जिल्लाभित्र मात्र नभएर जिल्लाबाहिरका पर्यटक पनि आउने गरेकाले उनीहरूलाई उच्च सावधानीका साथ राइनासकोटमा घुम्न भनिएको राइनासकोट होमस्टेका अध्यक्ष गुरुङले बताउनुभयो । पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि उच्च सतर्कताका साथ मङ्सिरबाट होमस्टे पूर्ण रूपमा खुलाउने तयारी गरिएको राइनासकोट सामुदायिक होमस्टेका उपाध्यक्ष विष्णुमाया गुरुङले बताउनुभयो । आजको गोरखापत्र दैनीकमा यो समाचार छ ।


प्रकाशित | १५ कार्तिक २०७७, शनिबार ११:४४