युरिक एसिडका बिरामीलाई कोरोना संक्रमणको जोखिम किन बढी ?

डा अन्जल विष्ट, बाथ रोग विशेषज्ञ


कोरोना संक्रमण हुने सम्भावना सामान्य मानिसलाई जति हुन्छ, युरिक एसिड मात्र भएका बिरामीलाई पनि त्यति नै हुन्छ। 

प्रायः युरिक एसिडको असर ४० देखि ५० वर्षको उमेर समूहका पुरुषलाई बढी हुने गर्छ। त्यसमा पनि उच्च रक्तचाप, मधुमेह, लामो समय एउटै ठाउँमा बसेर काम गर्ने मानिस र मोटोपन बढी भएकालाई युरिक एसिडको असर बढी हुन्छ। त्यसैले युरिक एसिडका बिरामीलाई कोरोना संक्रमणको जोखिम अन्य व्यक्तिभन्दा बढी हुने गर्छ। युरिक एसिडले जोर्नी सुनिने मात्र नभई हेलचेक्र्यार्इं गरे शरीरका अन्य अंग जस्तै मुटुलाई पनि असर गर्छ। 

कोरोना संक्रमण जुनसुकै व्यक्तिलाई पनि हुनसक्छ। तर युरिक एसिडका बिरामीमा अन्य रोगको संक्रमण पनि हुने भएकाले उनीहरुले बढी स्वास्थ्य सजगता अपनाउनु जरुरी हुन्छ। किनकी युरिक एसिड भएका व्यक्तिलाई केही न केही दीर्घरोग हुने भएकाले संक्रमणको सम्भावना उच्च हुन्छ।  

नेपालमा मृत्यु हुने कोरोना संक्रमित व्यक्तिमध्ये अधिकांश कुनै न कुनै दीर्घ रोगबाट संक्रमित भएका व्यक्ति छन्।  दीर्घरोगीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले यस्ता मानिसलाई संक्रमणजन्य रोगबाट छिटो संक्रमण हुन्छ। र, मृत्युदर पनि स्वस्थ नागरिकको भन्दा दीर्घरोगीको बढी भएको हो। 

यसकारण दीर्घरोग भएका व्यक्तिले नियमित औषधि सेवन गरेर रोगलाई नियन्त्रणमा राख्नु जरुरी छ। चिकित्सकको सल्लाह अनुसार नियमित औषधि सेवनका साथै शारीरिक कसरतलाई ख्याल गर्नुपर्छ। दीर्घरोग भएका व्यक्तिहरु कोरोना संक्रमणको उच्च जोखिममा हुने भएकाले अत्यावश्यक कामबाहेक सकेसम्म भीडभाडमा नजाने, जानै परेमा जनस्वास्थ्यका आवश्यक मापदण्डको पालन गर्नु आवश्यक हुन्छ।  

कोरोना संक्रमणबाट जोगिने उपाय भनेकै सामाजिक दूरी कायम राख्ने, समय समयमा साबुनपानीले मिचिमिची हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने र बाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्नु हो। किनकी कोरोना भाइरसबाट मुक्ति पाउन अहिलेसम्म विश्वमै औषधि पत्ता लागिसकेको छैन। अहिले कोरोनाको औषधि भनेकै मास्क लगाउने र भीडभाडमा नजाने नै हो।  

नेपालीको महान चाड दसैं लगभग सकिन लागेको छ। हरेक वर्ष धुमधामका साथ मनाइने दसैैं यस पटक भने खल्लो भएको छ। यसको कारण कोरोना नै हो। आफ्ना आफन्त र घरपरिवार सँगै बसेर मनाइने दसैं कोरोना कारण परिवारका सदस्यमै सीमित गर्नुपर्ने अवस्था आयो।  

टाढाटाढाबाट आफन्त आउने र मान्यजनबाट टीका लगाउन जाने परम्परा भएकाले कोरोना संक्रमण हुने डर उत्तिकै हुन्छ। त्यस्तै चाडबाडमा किनमेल गर्न जाँदा बजारमा भीडभाड हुने भएकाले पनि थप सतर्कता अपनाउनुपर्ने देखिन्छ।  

बजारमा सामान किन्न जाँदा, कसलाई कोरोना संक्रमण भएको छ थाहा नै हुँदैन। बिना लक्षणका व्यक्तिलाई पनि कोरोना संक्रमण भइरहेकाले अत्यन्तै सचेत हुन जरुरी छ। यस्तो समयमा दीर्घरोग भएका व्यक्तिले सजगता अपनाउनुपर्ने हुन्छ।

सार्वजनिक सवारीसाधन चढेर जाँदा कोरोना संक्रमणको सम्भावना हुन्छ। एउटा व्यक्तिका कारण परिवारका सदस्य हुँदै समुदायस्तरमा समेत कोरोना संक्रमणको भय हुन्छ। जति भीडभाडमा गयो, कोरोना संक्रमणको सम्भावना पनि उत्तिकै बढी हुने भएकाले आफू र आफ्ना परिवारका सदस्यलाई कोरोना संक्रमणबाट जोगाउन भीडभाडमा नजानु नै उत्तम हो।

दसैं भन्नासाथ खानपान र मनोरञ्जनको विषय पनि जोडिएर आउँछ। दसैंको बेलामा स्वास्थ्यको ख्यालै नगरी मासुजन्य तथा चिल्लोपदार्थ बढी भएका परिकारका साथसाथै मद्यपान र अन्य चिसोजन्य पेयपदार्थ पिउने गर्नाले युरिक एसिडका साथै अन्य दीर्घरोगका बिरामी बढ्ने गरेका छन्। 

त्यसैल दसैं भन्दैमा लगातार मासु खानु हुँदैन। युरिक एसिडका बिरामीले रातो मासुमा प्रोटिन बढी हुने भएकोले सकेसम्म नखाने, यदि खानै पर्‍यो भने पनि थोरै मात्रामा खाने गर्नुपर्छ। कृत्रिम गुलियो हालेर बनाइएका पेय पदार्थका साथसाथै मद्यपान नगर्नु नै स्वास्थ्यका लागि राम्रो हुन्छ।  

शरीरमा शक्तिका लागि प्रोटिन चाहिने हुँदा युरिक एसिडका बिरामीले हरियो सागसब्जी, फलफूल, गेडागुडी, दाल, माछा, अन्डा, दूध र दूधबाट बनेका परिकार प्रशस्त मात्रामा खानुका साथै प्रशस्त पानी पिउनुपर्छ।

युरिक एसिड बढ्न नदिन नियमित रुपमा शारीरिक कसरत गर्ने, घरमा नै योगा र ध्यान गर्ने, खानपानमा ध्यान दिने, आफ्नो जीवनशैलीलाई परिवर्तन गर्दै आफूलाई काममा व्यस्त राख्न जरुरी हुन्छ। स्रोत -स्वास्थ्य खवर


प्रकाशित | १२ कार्तिक २०७७, बुधबार १२:४५