कलेजो रोग र कोभिड–१९

डा दिलिप शर्मा

कोरोना भाइरसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई छिटो आक्रमण गर्छ। यस्ता व्यक्तिलाई संक्रमण भएमा उनीहरु सामान्य मानिसभन्दा छिटो गम्भीर बन्छन्। 

वृद्धवृद्धा र विभिन्न दीर्घकालीन रोगबाट ग्रसित व्यक्तिहरु संक्रमण र मृत्यु हुने दुवै जोखिममा पर्छन्। नेपालको परिप्रेक्ष्यमा हेर्न हो भने पनि दीर्घरोग भएका मानिसहरु कोरोना भाइरस संक्रमणबाट गम्भीर भएको देखिन्छ। मृत्यु हुने संख्या हेर्दा पनि दीर्घरोगीको धेरै छ।

विभिन्न दीर्घरोगमध्ये कलेजो रोग पनि एक हो। कलेजोको रोगबाट पीडित व्यक्ति पनि संक्रमणको उच्च जोखिममा हुन्छन्। 

कलेजो र कोरोना भाइरसबीचको सम्बन्ध, यसले कसरी कलेजोलाई असर गर्छ, कसरी जोगिने भन्ने विषयमा हामीले कलेजो रोग विशेषज्ञ डा दिलिप शर्मालाई सोधेका छौं। उनको भनाइः

कोरोना र विभिन्न रोगको सम्बन्धलाई हेर्दा कोरोनाका बिरामीमा कलेजोको समस्या पनि देखिन्छ।

कतिपय बिरामी कलेजो सुन्निएको रिपोर्ट लिएर डाक्टरकहाँ जाँदा कोरोना पोजिटिभ आएको देखिन्छ। वाकवाकी लाग्ने, खान मन नलाग्ने, कतिलाई जन्डिस पनि देखिने र लिभर इन्जायम बढेर जाने जस्ता लक्षण पनि देखिएको छ। 

केही मानिसमा कलेजो रोगको लक्षण जस्तो देखिने तर रोग चाहिँ कोरोना हुने पनि देखिएको छ।

तर, जो मानिसलाई पहिलेदेखि नै कलेजोको रोग छ, (दीर्घकालीन लिभर सिरोसिस) ती मानिसलाई कोरोना संक्रमण हुने सम्भावना एकदमै धेरै हुन्छ। किनभने उनीहरुको रोगसँग लड्ने रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ। त्यसैले कलेजोको दीर्घरोग भएका व्यक्तिले विशेष सुरक्षा अपनाउनुपर्छ।

कलेजोको रोग भएका मानिसले विशेष सुरक्षाका उपाय अबलम्वन गर्ने, भीडभाडमा नजाने, जनस्वास्थ्यका मापदण्ड पालना गर्ने भौतिक दूरी कायम राख्ने गर्नुपर्छ।

अर्को कुरा, कलेजो प्रत्यारोपण गरेका वा गर्नुपर्ने अवस्था भएका मानिसहरुले लिभर इम्युनिटी बढाउने औषधि खाइरहेका छन् भने उनीहरुको रोगसँग क्षमता झन कमजोर हुन्छ। उनीहरुलाई अरुलाई भन्दा छिटो संक्रमण हुने सम्भावना हुन्छ। यस्ता व्यक्तिले पनि बढी प्रिकन्सस लिनुपर्छ।

अहिलेसम्म कलेजो रोगका बिरामीलाई कोरोना संक्रमण भएर कति बढी जोखिम हुन्छ भन्ने धेरै अध्ययन भएको छैन। कोभिड–१९ देखिएको धेरै समय नभएकाले यसले कुन रोगलाई कति असर गर्छ, कहाँ असर गर्छ अध्ययन भई पत्ता लाग्दै छ। 

कलेजो रोगीले सतर्क हुनुपर्छ
कोरोना भाइरसबाट बच्न कलेजोका बिरामीले पनि अरु मानिसले जे सुरक्षाका मापदण्ड अपनाउँछन्, त्यो त पालना गर्नै प¥यो। जस्तोः मास्क लगाउने, भौतिक दूरी कायम राख्ने र हातको सरसफाइ गर्ने, भीडभाडमा नजाने जस्ता उपाय त अपनाउनै पर्छ। 

त्यसबाहेक कलेजोका बिरामी विशेषगरी जसले कलेजो प्रत्यारोपण गरेको छ, उनीहरुले फ्लुहरुको भ्याक्सिन लिनुपर्छ। हेपाटाइटिस ‘बी’ को भ्याक्सिन लिएको छैन भने त्यो पनि लिनुपर्छ। किनभने, कोभिडको भ्याक्सिन त बनेको छैन। तर पनि अरु रोगको लक्षण पनि कोरोना जस्तै हुने भएकाले मानिस झुक्किन सक्छन्। 

त्यसकारण, घरमै बस्ने, स्वस्थ खानेकुरा खाने, नियमित औषधि खाने र अत्यावश्यक भएपछि मात्र चिकित्सककहाँ जानुपर्छ। हामीले बिरामीलाई सकेसम्म  फोनबाटै परामर्श लिन भनेका छौँ। मैले आफ्ना बिरामीलाई सकेसम्म फोनमै सल्लाह र परामर्श लिइरहेको हुन्छु।

विशेष ख्याल राखौं
कलेजोका बिरामीले दसैं होस वा अन्य समय, अल्कोहल खानै हुँदैन। दसैं त हो नि भनेर खाँदा थप असर गर्छ। अल्कोहलले यसै पनि कलेजोलाई खराब गर्छ। दसैंमा धेरै मासु खाने, अल्कोहल खाने, चिल्लोपिरो धेरै खाने पहिलेदेखिको चलन हो। यी खानेकुराले कलेजोलाई असर गर्छ। त्यसमाथि कोरोना भयो भने त गम्भीर स्थिति हुनसक्छ। 

दसैंमा धेरै मासु खाने चलन छ। मासु खानै नहुने भन्ने होइन तर जसको फ्याट्टी लिभर छ, धेरे बोसो लागेको छ। उसले रातो मासु नखाएकै राम्रो हुन्छ। यस्ता व्यक्तिले मासु खानै परेमा पनि सेतो मासु खानमा जोड दिनुहोला।

दसैंमा जमराको जुस पनि धेरैले खाएको पाइन्छ। कति व्यक्तिले जमराको जुसले कलेजोलाई राम्रो गर्ने वा जन्डिस ठिक गर्छ भनेको पनि सुनिन्छ। तर कलेजोका बिरामीले यस्तो कुनै जोखिम नलिनुहोला। किनभने, कलेजोलाई यस्ता खालका अनावश्यक कुराले फाइदा गर्दैन, बरु झन् खराब गर्छ। 

जमराको के फाइदा छ भन्नेबारे आयुर्वेदले भन्ला तर कलेजोको औषधि खाइरहनुभएका व्यक्तिले नियमित औषधि सेवन गर्ने तर चिकित्सकले भनेको बाहेक आफूखुसी जमरा वा अरु कुनै जुस, औषधि प्रयोग नगर्नुहोला। स्रोत -स्वास्थ्य खवर


प्रकाशित | ११ कार्तिक २०७७, मंगलवार १८:१९