मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनीक

काठमाडौं । सरकारले कात्तिक ४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनीक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री समेत रहनु भएको पार्वत गुरुङले आज मन्त्रालयमा आयोजीत एक पत्रकार सम्मेलनकाबीच निर्णयहरु सार्वजनीक गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गुरुङले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायतको रुपमा २ सय मिलिनयन अमेरिकी डलर अर्थात झण्डै २४ अर्ब रुपैयाँ सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको बताउनुभयो । विभिन्‍न विकास कार्यक्रममा खर्च गर्ने गरी उक्त सहयोग स्वीकार गरिएको मन्त्री गुरुङले बताउनुभयो ।

बैठकले नेपालमा सञ्चालित उत्पादनमुलक उद्योगहरुमा नेपाली जनशक्ति र श्रमिकहरुबाट सम्भव नभएका काममा विदेशी श्रमिक लयाउने सम्बन्धमा निश्चित मापदण्ड पुरा गरेर विदेशी श्रमिक ल्याउन अनुमति दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावलाई समेत स्वीकृत गरेको छ । कृषि मन्त्रालयको प्रस्तावमा न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने निर्देशिका २०७७ स्वीकृत गरेको छ ।

यस्तै नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा सिन्धुलीका आशीष गजुरेललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ ।

विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश लोहित चन्द्र शाहलाई तोकेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेललाई तोक्ने निर्णय समेत गरेको छ । भूकम्पबाट प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी ऐन, २०७७को दफा २६ को उपदफा २ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश मोहम्द जुनैद आजादलाई तोकेको छ ।

विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश प्रेमराज कार्की, सदस्यहरुमा अब्दुल अजिज मुलसमान र नित्यानन्द पाण्डेलाई नियुक्त गरेको छ । त्यस्तै राजस्व न्याधिकरण काठमाडौंको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश विनेद शर्मा, राजस्व न्यायाधिकरण विराटनगरको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारु र राजस्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश केशवराज जोशीलाई तोकेको छ ।

यस्तै अन्तर्राष्ट्रिय श्रम संगठनको विधान ‘इन्सट्रुमेन्ट फर द एमेन्डमेन्ट अफ तजभ कन्स्टिच्युसन अफ द इन्टरनेशनल लेबर अर्गनाइजेसन १९८६’ अनुमोदका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकले गरेको छ ।


प्रकाशित | ६ कार्तिक २०७७, बिहीबार १९:१६