एनआरएनए मध्यपूर्वको क्षेत्रीय भेला शुक्रबारदेखि हुँदै, परराष्ट्र मन्त्रीले उद्घाटन गर्ने

काठमाडौ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) मध्यपूर्वको क्षेत्रीय भेला भोली (शुक्रबार ) देखि शूरु हुँदैछ । शुक्रबार र शनिबार गरि दुई दिन हुने संघको सातौं मध्यपूर्व क्षेत्रीय भेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

एनआरएनए मध्यपूर्व संयोजक प्रविण गुरुङले भेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराउनुभएको छ । दुई दिनसम्म चल्ने क्षेत्रीय भेलाको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गर्नुहुनेछ । साथै भेलामा श्रममन्त्री रामेश्वर राय यादव, एनआरएन अध्यक्ष कुमार पन्तलगायत एनआरएनएका पदाधिकारीहरुको सहभागिता रहने संयोजक गुरुङले बताउनुभयो ।

उप संयोजकद्वय मनोज गोर्खाली तथा राजेन्द्र अर्याल (जोन) ले भेलामा मध्यपूर्वका नेपालीहरुका समस्या र सम्भावना, स्वदेश फर्किएका नेपालीहरुले सिकेको सीपलाई सदुपयोग गर्न सोही अनुरुपको खाका तयार गर्ने जानकारी गराउनुभयो ।

एनआरएनएको राष्ट्रिय समन्वय परिषद् कतारको संयोजनमा आयोजना हुन लागेको भर्चुअल भेलामा मध्यपूर्वमा नेपालीले भोगीरहेको समग्र समस्या र समाधानको उपायको विषयमा छलफल हुनेछ ।

त्यस्तै, ग्लोबल नेप्लिज न्युज नेटवर्क (जिएनएनएन) ले आयोजना गरेको एक पत्रकार सम्मेलनमा एनआरएनएका सल्लाहकार टीबी कार्कीले एनआरएनएको उद्देश्य अनुरुप यतिबेला विगतको तुलनामा मुद्दाहरु फेरिएकाले पहिलेका घोषणा गरेका एजेन्डा र कोभिडपछिको अवस्थाका बारेमा विश्लेषण गरेर अघि बढ्नुपर्ने औल्याउनुभयो ।

एनआरएनए प्रवक्ता डिबी क्षेत्रीले एनआरएको आगामी कार्यदिशा र स्मार्ट एनआरएनए कस्तो बनाउने भन्ने विषयमा भेलामा ब्यापक छलफल हुनुपर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा एनआरएनए आइसीसी सचिव आरके शर्माले मध्यपूर्वका नेपालीहरुमा समस्या भन्दा सम्भावना, ज्ञान, सीपको खोजीग गर्ने गरि खाका तयार भइरहेको बताउनुभयो ।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मोक्तदा मुसलमानले मध्यपूर्वमा सपना बोकेर आउने नेपालीहरुको सीपलाई कसरी ब्यवस्थापन गर्नेभन्ने बारेमा ब्यापक बहस हुनुपर्ने बताउनभयो ।

एनआरएनए बहराइनकी अध्यक्ष लक्ष्मी गिरिले चोरबाटो भएर खाडी मुलुकमा नेपाली चेलीहरुलाई ल्याउने र घरेलु हिंसा गर्नेक्रमलाई रोक्नेगरी खाका तयार गर्नुपर्ने सुझाव दिनुभयो ।


प्रकाशित | २९ आश्विन २०७७, बिहीबार ११:००