काठमाडौं ओहोरदोहोर नगर्न र ज्येष्ठ नागरिकको सुरक्षालाई ध्यानमा राखेर दशैँ मनाउन सरकारको अपिल

काठमाडौँ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाको उच्च जोखिममा ज्येष्ठ नागरिक रहेको भन्दै दसैं मनाउँदा ज्येष्ठ नागरिकको सुरक्षालाई ध्यान दिएर मनाउन आग्रह गर्नुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनीक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञवालीले ज्येष्ठ नागरिकलाई कोरोना संक्रमणको जोखिम हुनसक्ने भएकाले सचेत रहन आग्रह गर्नुभएको हो ।

ज्ञवालीले भन्नुभयो, ‘चाडबाडहरुको याम नजिक आउँदैछ। मेरो विशेष आग्रह छ, हामी स्वस्थ रह्यौं भने फेरिफेरि पनि चाडबाड मनाउन सक्छौं। दसैंको एउटा मुख्य विशेषता पारिवारिक पुनर्मिलन र आफूभन्दा ज्येष्ठ, वरिष्ठ र अग्रजबाट शुभाशिष लिने हो। तर ज्येष्ठ नागरिक, बुबाआमाहरु, हजुरबा हजुरआमाहरु, काकाकाकीहरु हुनुहुन्छ। त्यसैले दसैं मनाउँदा हाम्रा अभिभावकहरुको सुरक्षालाई अत्यन्तै ध्यानमा राख्नुपर्ने आवश्यकता छ ।’

उहाँले यस पटक सधैंजस्तो काठमाडौंबाट गाउँ र गाउँबाट फेरि काठमाडौं फर्कदा कोरोना संक्रमण पनि सँगसँगै आउने र ओहोरदोहोर गर्ने जोखिम रहेको भन्दै भन्नुभयो, ‘यो कुरालाई विशेष ध्यान राखिदिनुहोला, आशित हामीले टाढैबाट पनि लिन सक्छौं। उहाँहरु सुरक्षित र स्वस्थ रहनुभयो भने यस्ता अवसर पटकपटक आउँछन्। तर हाम्रो सानो लापरबाहीले उहाँहरुको स्वास्थ्यमा जोखिम बढ्न सक्छ।’

ज्ञवालीले ६० वर्षभन्दा मुनिकाको संक्रमणदर र त्यसपछि मृत्युदर पनि तुलनात्मक रुपमा कम भए पनि ६० वर्षभन्दा माथिकालाई जोखिम बढी भएको बताउँदै आशिर्वाद दिनेहरुलाई बचाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले स्वास्थ्य मन्त्रालय र सिसिएमसीले नारा तय गरेको छ, ‘आशिर्वादलाई बचाऔं। आशिर्वाद हामीलाई पछिसम्म पनि चाहिन्छ । ‘


प्रकाशित | २१ आश्विन २०७७, बुधबार १२:४९