माल्टा, पोल्याण्ड र पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न एनआरएनए यूरोपको माग

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले नेपालीहरुको बढ्दो संख्यालाई ध्यानमा राखी युरोपका माल्टा, पोल्याण्ड र पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न सरकारसँग माग गरेको छ । दुई दिन सम्म चलेको एनआरएनए यूरोप क्षेत्रीय बैठकले कूटनीतिक नियोगहरु स्थापना नहुँदासम्म ती मुलुकहरुमा सहज र नजिक हुने कूटनीतिक नियोगमा हस्तान्तरण गराउन माग गरेको हो ।

बैठकले युरोपस्थित नेपाली नियोगहरु तथा युरोपमा रहेका नेपाली समुदायबीच निकट सहकार्य गर्दै मिलेर अगाडी बढ्न पनि आग्रह गरेको छ । भर्चुअल रुपमा भएको सो बैठकले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भै संसदको विचाराधीन रहेको ‘गैर आवासीय नेपाली नागरिकता सम्बन्धि ऐन’ लाई “एक पटकको नेपाली संधैको नेपाली” भन्ने मूल मन्त्रलाई चरितार्थ गर्ने गरी भावी सन्ततिलाई पनि नेपालसँग जोड्ने प्रावधान सहित यथाशिघ्र पारित गर्न पनि माग गरेको छ ।

त्यस्तै, बैठकले सन् २०१९ मा नेपाल सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा गैर आवासीय नेपाली संघले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गर्ने सहमतिको कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छ । साथै उक्त कोष स्थापना गर्नका लागि देखिएका कानूनी एवम् प्रक्रियागत अड्चनहरु हटाइदिनका लागि नेपाल सरकारसँग आग्रह गर्दै यूरोपस्थित नेपालीहरुलाई उक्त कोषमा लगानी गर्न समेत बैठकले आग्रह गरेको छ ।

त्यस्तैगरि, विगत केही वर्ष देखि युरोपले नेपाली राष्ट्रिय ध्वजावाहक लगायत सबै नेपाली वायु सेवालाई युरोपको आकाशमा उड्नमा प्रतिबन्ध लगाइ रहेकोमा यथाशिघ्र सो प्रतिबंध हटाइ युरोपेली आकाश खुला गर्न हाल भैरहेका कूटनीतिक प्रयासलाई तीव्र पार्न पनि नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले ब्रिटिश सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरुसंग रहेको सीप, अनुभव र पूँजीलाई मातृभूमिको विकासमा परिचालन गर्ने ठोस प्रयासहरुको आवश्यकता रहेको महसुस गर्दै भूतपूर्व गोर्खा सैनिकहरुको नेपाली नागरिकताको निरन्तरताको विषयलाई नेपाल तथा ब्रिटिश सरकारबीच कूटनीतिक माध्यमबाट यथाशिघ्र सुनिस्चित गर्न र सो कार्यमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरिएको छ ।

त्यस्तै, संघको स्थापना भएको १७ वर्ष पुरा हुंदै गर्दा एनआरएनएलाई रुपान्तरण गर्नु पर्ने आवश्यकताको बारेमा व्यापक छलफल भएको छ । बैठकले एनआरएनको वर्तमान नेतृत्वले अगाडी सारेको निशुल्क सदस्यता, अनलाइन भोटिंग, स्मार्ट एनआरएनए जस्ता अवधारणाबारे सबै एनसीसीहरुमा व्यापक छलफल गरी एनसीसीहरुको स्वायत्तता, आर्थिक अवस्था, दिगोपना तथा संस्थाको भविष्य लगायतका विषयलाई समेत ध्यानमा राखी अगाडी बढ़ाउन पनि एनआरएन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

कोभिड १९ का कारण रोजगारी गुमाएर नेपाल फर्केका र फर्कने अनुमान गरिएका झन्डै ५ लाख नेपालीहरुलाई नेपालमै रोजगारी दिलाउन सघाउनका लागि नेपालका सरकारी निकायहरु तथा निजी क्षेत्र समेतसंग सहकार्य गरी बृहत् अभियान संचालन गर्न एनआरएन केन्द्रलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तैगरि, कोभिड १९ शुरु भएको ६ महिना बितिसक्दा अहिले खाडी, मलेसिया लगायतका मुलुकमा रोजगारी गुमाएका लाखौं नेपाली नेपाल फर्कन पर्खि रहनुभएकाले खासगरी महिला, बिरामी, अशक्त, आर्थिक अभाव बेहोरी रहनु भएका नेपालीहरुलाई निशुल्क उडानको व्यवस्था मिलाउन तथा नेपालीहरुका प्रमुख चाड दशैं, तिहार अगावै अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्काउने योजना सार्वजनिक गर्न पनि निर्णय गरेको छ ।

त्यस्तै, कोभिड १९ का कारण विदेशमा निधन भएका नेपाली नागरिकहरुको तथ्यांक स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक गरिने विवरणमा समावेश गर्न, वैदेशिक रोजगारलाई मर्यादित र सुरक्षित बनाउन गैर आवासीय नेपाली संघले विभिन्न कालखण्डमा पेश गरेका बुंदाहरुमा मन्त्रीस्तरीय निर्णय भै सकेर पनि लागू नभएका विषयहरु तत्काल लागू गर्न गरेको छ । बैठकले विभिन्न विषयमा छलफल गर्दै १८ बुँदे घोषणपत्र समेत जारी गरेको हो ।

“मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” मूल नारा रहेको सम्मेलनमा ११ औं यूरोपेली महिला भेला, युवा सम्मेलन तथा समसामयिक विषयमा विभिन्न सत्रहरु आयोजना गरिएका थिए।

नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नु भएको सम्मेलनमा पूर्व मन्त्री एवम नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महत, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्व अध्यक्ष जीवा लामिछाने, पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घले, अध्यक्ष कुमार पन्तलगायतले सम्बोधन गर्नुभएको थियो ।

विज्ञ सम्मेलनमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले सम्वोधन गर्नुभएको थियो भने अन्य सत्रहरूमा नेपाल सरकारका वरिष्ठ अधिकारीहरु, पूर्व मन्त्री तथा नेकपा नेता डा. गंगाधर तुलाधर, पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापा, राजदूतहरु, एनआरएनएका केन्द्रिय पदाधिकारी, युरोपस्थित विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरु तथा गैरआवासीय नेपालीहरुको उत्साहजनक सहभागिता रहेको थियो।

यूरोप संयोजक नारायण आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शुक्रराज न्यौपाने र धन्यवाद ज्ञापन मुक्त गुरुङ्गले गर्नुभएको थियो । कार्यक्रम संचालन युरोप सहसंयोजक कृष्ण तिमल्सीनाले गर्नुभएको थियो ।


प्रकाशित | १९ आश्विन २०७७, सोमबार १४:५८