नेपालमा लगानी र सिप भित्राउन चाहने हरेक गैर आवासीय नेपालीले नागरिकता लिनुपर्छ: सोनाम लामा

काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व उपाध्यक्ष तथा नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक सोनाम लामाले नेपालमा लगानी, सिप भित्राउन चाहने, आफ्ना सन्तान नेपाल गएर मातृभूमिसँग जोडिउन् भन्ने चाहने हरेक गैर आवासीय नेपालीले नागरिकता लिनुपर्नेमा जोड दिनु भएको छ । गैर आवासीय नागरिकता कार्यान्वयनमा आएपछि लामाले अलमलनमा नपरी नागरिकता लिनुपर्ने बताउनु भएको हो ।

‘गैर आवासीय नेपाली नागरिकता लिने कि नलिने ? समर्थन गर्ने कि विरोध गर्ने भन्ने अलमलमा पर्नु हुँदैन’, लामाले भन्नु भएको छ, ‘नेपालमा लगानी गर्न चाहने, सिप भित्राउन चाहने, आफ्ना सन्तान नेपाल गएर मातृभूमिसँग जोडिउन् भन्ने चाहने हरेक गैरआवासीय नेपालीले नागरिकता लिनुपर्छ । यसमा खुसी मनाउनुपर्छ । नेपालले हामीलाई देखाएको उदारता र खुला हृदयप्रति आभार व्यक्त गर्नुपर्छ ।’

खासमा एनआरएनएको लागि नेपाली नागरिकताको निरन्तरता नै भएको बताउँदै अहिले प्राप्त उपलब्धीलाई स्वागतग गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नागरिकता निरन्तरता कार्यदलका संयोजक सोनाम लामा भन्नुहुन्छ:-

गैर आवासीय नेपालीहरुले लामो समयदेखि दोहोरो नागरिकताको माग राख्दै आएका थिए । ‘दोहोरो नागरिकता’ शब्दप्रति नेपालमा सन्देह उत्पन्न भएपछि ‘नेपाली नागरिकताको निरन्तरता’ भन्न थालियो ।

खासमा हामीले चाहेको नेपाली नागरिकताको निरन्तरता नै थियो । त्यो कसलाई चाहिएको थियो त ? खासगरी अमेरिका, बेलायत, अष्ट्रेलिया जस्ता मुलुकमा आएर सेटल भइसकेका र विदेशी नागरिकता लिइसकेकाहरुका लागि यसको ठूलो अर्थ थियो ।

किनभने हामी विदेशमा दुःखले कमाएको केही पूँजी र सीप आफ्नो मातृभूमिमा लगानी गर्न चाहन्थ्यौं, हाम्रा सन्तानको नेपाल बसाइँ र आवागमनलाई बढाउन चाहान्थ्यौं । हामी नेपालमा घरजग्गा किन्न, आफ्ना परिवारका सदस्यसँग बस्न र नेपालमा लगानी गर्न पनि चाहन्थ्यौं ।

तर, त्यसका लागि हाम्रो विदेशी नागरिकको हैसियत धेरै ठाउँमा बाधक भइरहेको थियो । हाम्रो उद्देश्य नेपालमा सिप र पूँजी लैजाने थियो । हामी र हाम्रा सन्तानलाई नेपाल फर्किएर राजनीति गर्ने वा सरकारी जागिर खाने इच्छा पटक्कै हैन ।

त्यसैले हामीले राजनीतिक अधिकार नभएको तर आर्थिक तथा सामाजिक अधिकार भएको नागरिकता दिलाउन निकै लबिइङ गर्यौं । खासगरी एनआरएनको नेतृत्वमा शेष घले आएसँगै त्यसले तीव्रता पायो । संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा रहेकाले हामीले सबै दलका शीर्ष नेता, सभासद् र प्रभाव समूहरुलाई दर्जनौंपटक भेट्यौं । सबै दलहरुमा हाम्रो मागप्रति शंका गर्ने र नागरिकता दिन हुँदैन भन्ने सांसद÷नेताको कमी पटक्कै थिएन ।

गैरआवासीय नेपालीहरुले विदेशी नागरिककै हैसियतमै पनि नेपालमा अर्बौं लगानी गरिरहेका छन्, नागरिकता नै भयो भने नेपालमा लगानी बढ्छ भनेर हामीले आश्वस्त पार्यौं । निकै मिहिनेतपछि २०७२ असोज ३ गते जारी भएको संविधानमा गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रावधान पर्न सफल भयो ।

संविधान जारी त भयो तर त्यसलाई ऐनमा रुपान्तर गर्ने काम अगाडि बढ्न सकेन । दुर्भाग्य के भने नागरिकता विधेयक नेपालको राजनीतिक विषय बनिदियो, दलहरुले आ–आफ्नो अनुकूलतामा यसलाई प्रयोग गरे ।

पछिल्लोपटक संसदले पारित गरेर राष्ट्रपतिकहाँ पठाएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखिदिनुभयो । अन्ततः नयाँ राष्ट्रपति आएपछि यो विधेयक अगाडि बढ्यो । सर्वोच्च अदालतले पनि बाटो खोलिदियो ।

अब गृह मन्त्रालयले गैरआवासीय नेपाली नागरिकताका विषयमा कार्यविधि बनाएपछि हामीले गैरआवासीय नेपाली नागरिकता पाउने अवस्था बनेको छ । तर, यसैबेला गैरआवासीय नेपालीहरुमा यो नागरिकता कस्तो प्रकृतिको हो, हामीले यो लिने कि नलिने भन्ने विषयमा बहस हुन थालेको छ ।

केही साथीहरुलाई लागेको छ– गैरआवासीय नेपाली नागरिकता लिँदा नेपालसँग वंशजको नागरिकताको साइनो टुट्छ र दोस्रो दर्जाको नागरिक भइन्छ । त्यसैले अंगिकृतको हैसियत भएको गैरआवासीय नागरिकता लिनु हुँदैन ।

यसमा हामीले के हेर्नुपर्छ भने– हामीलाई नागरिकता किन चाहिएको हो ? राजनीति गर्न त पक्कै हैन ? राजनीति नै गर्ने मन हो भने विदेशको नागरिकता त्याग्नासाथ नेपाली नागरिकता पाइन्छ र चुनाब लड्न पनि पाइहालिन्छ । यो नजिर त रवि लामिछाने प्रकरणमा बनिसक्यो ।

अर्को कुरा, जसले विदेशमा पीआर लिएर बस्नुभएको छ, जो अध्ययन र रोजगारीमा केही वर्षका लागि जानुभएको छ, उहाँहरु त स्वतः नेपाली नागरिक हो । उहाँहरुलाई राजनीतिक अधिकार नभएको गैरआवासीय नेपाली नागरिकता चाहिने कुरै भएन ।

यदि हामीलाई राजनीति गर्नु छैन भने नेपाल सरकारले बडो उदारतापूर्वक दिएको गैरआवासीय नेपाली नागरिकता हामीले लिनुपर्छ । यो नागरिकताले हामी राजनीति गर्ने र सरकारी जागिर खानेबाहेक सबै काम गर्न सक्छौं ।

कसैलाई भोलि नेपालमै आएर राजनीति नै गर्न मन छ भने त विदेशी नागरिकता त्यागेर आए जुन दिन पनि त्यो बाटो खुला छ । विदेशी नागरिकता त्यागेपछि स्वतः गैरआवासीय नेपाली नागरिकता पनि रहने भएन । त्यसो हुँदा साविककै वंशजको आधारको नेपाली नागरिकता पुनः प्राप्ति गर्न कुनै कठिनाइ हुँदैन ।

त्यसैले गैरआवासीय नेपाली नागरिकता लिने कि नलिने ? समर्थन गर्ने कि विरोध गर्ने भन्ने अलमलमा पर्नु हुँदैन । नेपालमा लगानी गर्न चाहने, सिप भित्राउन चाहने, आफ्ना सन्तान नेपाल गएर मातृभूमिसँग जोडिउन् भन्ने चाहने हरेक गैरआवासीय नेपालीले नागरिकता लिनुपर्छ । यसमा खुसी मनाउनुपर्छ । नेपालले हामीलाई देखाएको उदारता र खुला हृदयप्रति आभार व्यक्त गर्नुपर्छ ।


प्रकाशित | ११ कार्तिक २०८०, शनिबार २०:३९