कुलमानको पुनर्नियुक्तिमा भएको चलखेल

उद्धव लुइटेल /टोकियो, जापान

तेह्रौं शताब्दीका विश्वचर्चित कवि मौलाना जलालुद्दिन रुमीले भनेका छन – माछा टाउकादेखि पुच्छरतिर कुहिँदै आउँछ । कवि रुमीको यो भनाइलाई नेपाल विद्युत् प्राधिकरणको ठिक चार वर्ष अगाडिको अवस्थासँग तुलना गर्न सकिन्छ । जतिबेला नेपाल अन्धकारको जर्जर अवस्थामा थियो त्यो पृष्ठभूमिमा कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख बनेर आएका थिए । पर्याप्त विद्युत् भएर पनि कुशल व्यवस्थापक र व्यवस्थापनको अभावमा टाउकाबाट कुहिँएर पुच्छरतिर सर्दै गएको प्राधिकरणको जीर्ण शरीरको प्राण कुलमानकै अब्बल क्षमताले बचेको विषय जगजाहेर छ नै । यहीँ क्षमताकै कारण कुलमान घिसिङ आमनेपाली हृदयमा विराजमान भएका हुन ।

गत भाद्र २९ गते कुलमानको चार वर्षे पदावधि सकियो र उनको औपचारिक विदाइ भयो । यसले नेपाली राजनीतिको अग्रमोर्चा सम्हालेका सरकार र दलहरूको नियतमाथि गम्भीर आशंका जन्माइदियो । आमनागरिकहरू कुलमानको पुनर्नियुक्तिका पक्षमा विभिन्न कोणबाट आवाजहरू उठाइरहेका थिए । सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सर्वसाधारण नेपाली नागरिकहरूको आँखाबाट अग्निपरीक्षामा सामेल थिए । ओलीको चरित्र र गतिविधि कुलमानका विपक्षमा छ भन्ने छिटफुट रूपमा बाहिरिएका समाचारहरूले सर्वसाधारणहरूका मनमा आक्रोशको अग्निज्वाला दन्किन सुरू भइसकेको थियो । उज्यालो नेपालका प्रवर्तकका रूपमा कुलमानको ख्याति चुलिएका बेला देशको कार्यकारी प्रमुखको मौनता भित्रको द्विविधायुक्त मनस्थिति जनसामान्यका नजरमा अरुचि विषय बन्नु नौलो कुरा थिएन ।

भाद्र ३१ गते सामाजिक सञ्जालमा एउटा कार्टुन चित्र सार्वजनिक भयो । ओछ्यानमा सुतेका प्रधानमन्त्रीले ढोकाबाट निस्किन लागेका कुलमानलाई भन्छन – ‘के तालको केटो रहेछ यो । जाँदा त बत्ति निभाएर जा । मलाई उज्यालोमा पिटिक्कै निद्रा लाग्दैन भन्या’ यो चित्रले प्रधानमन्त्रीको नियतलाई सटिक रूपमा चित्रण गरेको छ । कुलमानको समर्थनमा आमनेपालीहरू उभिएको विषयसँग सरकार बेखबर पक्कै छैन । तर यसमा उसको गलत नियत छ भन्ने कुरा स्पष्ट देखिन्छ । यो देशप्रतिको घात हो भन्ने सर्वसाधारणको बुझाइ छ ।

कुलमानको पुनर्नियुक्ति हुन नसक्नुका पछाडि थुप्रै अदृश्य कारणहरू छन । सरकार माफियाहरूको जालमा फसेको छ भन्ने आरोपलाई यसले आंशिक समर्थन गर्छ नै । विद्युतका बैकल्पिक उपकरणहरू बेच्ने केही ठूला व्यापारीहरूको व्यापार विगत चार वर्षदेखि ठप्प छ । तिनीहरू सरकारलाई विभिन्न कोणबाट प्रभावमा पारी कुलमानको पुनर्नियुक्ति रोक्न सक्रिय छन भन्ने आवाज पनि सुनिएको छ । लामो समय कुर्सीमा बसेर देशका लागि सिन्को नभाँचेका केही व्यक्तिहरू कुलमानको लोकप्रियताबाट तर्सिएको सत्य लुकाएर लुक्ने विषय होइन । त्यस्ता व्यक्तिहरू पनि सरकारको वरिपरि घुमिरहने विषय बेलाबेला सुनिएकै हुन । कवि रुमीको भनाइ जस्तै टाउकोबाट कुहिँएका निकायहरू नेपाली धर्तिमा यत्रतत्र सर्वत्र पाइन्छ ।

कुलमानको विरुद्धमा राजनीतिका केही चर्चित अनुहारहरू बाहिरिएका छन । तिनीहरूको भनाइ सुन्दा लाग्छ आफूबाहेक अरूले पाएको जनअभिमत असत्य हो भ्रम हो । तिनीहरूले यो बुझ्नु आवश्यक छ कि जनअभिमत कसैको वैयक्तिक पेवा होइन । जनअभिमत परिवर्तनशील छ । जिन्दगीभर राजनीति गरेर सिर्जनात्मक काम गर्न नसकेका केही जानेबुझेका अनुहारहरूलाई कुलमान पथ असह्य हुनु नौलो कुरा होइन । झन् मुलुक डुबाएर आफू फस्टाउन उद्धतहरूका निम्ति कुलमान पथका कारण निरन्तर कमिसन झर्ने द्वार बन्द भएपछि तिनीहरूका मनमा उब्जिएको पीडा, छटपटी र वेदना बाहेक केही हुनै सक्दैन ।

विगतमा नेपाल विद्युत् प्राधिकरणको जिम्मेवारी संहाली सकेका केही अनुहारहरू पनि विभिन्न मिडियाहरूमा आआफ्ना बेतुकका थुतुनाहरू चलाइरहेका छन । बरू आम नेपाली नागरिकहरू उनीहरूलाई उल्टै प्रतिप्रश्न गरिरहेका छन । तिमी त्यो कुर्सीमा बस्दा कुलमानले जस्तै किन काम गर्न सकेनौं ? दैनिक अठार बीस घण्टा नेपाली नागरिकहरूलाई अन्धकारमा राखेर दिएको उपहारप्रति के धारणा छ ? आफू हुँदा गर्न नसक्ने अनि कुलमानले गरेर देखाउँदा जठराग्नि दन्किनुको कारण के हो ? सर्वसाधारणका यी प्रश्नहरू जायज छन । तिनीहरूको जवाफ विद्युत् प्राधिकरणको कुर्सीमा बसेकाहरूले दिनु पर्छ नै । तर दिन सकिरहेका छैनन् । यो पदीय जिम्मेवारी र उत्तरदायित्वप्रतिको अपमान शिवाय केही होइन ।

धरानका रमेश प्रसाईकै शब्द सापटी लिएर भन्ने हो भने देश पद्धति बिहिन भएकै कारण कुलमान घिसिङलाई जनताले चाहेका हुन । प्रसाईको भनाइलाई आधार लिएर विश्लेषण गर्ने हो भने पद्धति र थितिले देश चलेको हुन्थ्यो भने कोही पनि व्यक्तिका पछाडि लाग्नै पर्दैनथ्यो । मुलुकलाई थितिमा हिंडाउन नसकेकै कारण व्यक्ति रुचाइएको हो । यो नागरिकहरूको दोष कदापि होइन । डा. सुरेन्द्र केसी मुलुकको कानुन र संविधान उल्लङ्घन गर्ने छुट कसैलाई नभएको भए पनि त्यो उपल्लो तहमा बसेकाहरू बाट निरन्तर भइरहेको जिकिर गर्छन । डा. केसीको उक्त तर्कले केही मुठ्ठीभरका नेताबाट जनताको नाममा भइरहेको घातलाई गम्भीर रूपमा संकेत गरेको छ ।

कुलमान घिसिङको पुनर्नियुक्तिका पक्षमा सडकमा सरकार विरोधी आवाजहरू पनि उठ्न थालेका छन । राजधानीका विभिन्न स्थानहरूमा भएका शान्तिपूर्ण प्रदर्शनहरूमा प्रहरीबाट भएको निर्मम दमनको सर्वत्र विरोध भइरहेको छ । चुनाव हारेका वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएको परिवेशकै वरिपरि कुलमान घिसिङको पुनर्नियुक्ति नहुनुलाई आम मानिसहरूले सरकारको बदनियत भनी टिप्पणी गरिरहेका छन । प्रधानमन्त्री र उर्जा मन्त्री सामाजिक सन्जाल प्रयोगकर्ताहरूका निशानामा विगत केही हप्तादेखि परिरहेका छन । तर पनि उनीहरू यस किसिमका आवाजहरू सुन्न र संबोधन गर्न तयार भएका देखिँदैनन् । आम मानिसहरूको रुचिलाई लत्याएर अघि बढ्ने सरकारी कोशिस जायज होइन । यो सरकारका निम्ति महँगो र प्रत्युत्पादक हुन सक्छ ।

कम्युनिस्ट सरकार सर्वहाराको सरकार हो । तथापि मार्क्सवादी सिद्धान्तका आधारभूत मान्यताका कसीमा लगेर हेर्दा ओली नेतृत्वको सरकारमा सर्वहारा समर्थक सरकार भन्न लायक विशेषताहरू देखिँदैनन्। कसैले देखेको भए बुँदागत रूपमा मलाई भन्नु भए हुन्छ । सर्वहाराका नाममा नेपाली धर्ति माथि भएका काण्डहरू मात्र उक्काउने हो भने वर्तमान सरकारलाई सर्वहाराको सरकार भनेर टिप्पणी गर्नु मार्क्सवादी राजनीतिक मान्यताहरूको घाँटी अठ्याउनु सरह हो । यो त ‘काले काले मिलेर खाँऊ भाले’ भन्ने लोकोक्तिलाई चरितार्थ गर्ने विषय हो । जुन काम राज्यका उपल्ला निकायहरूमा विगतदेखि वर्तमानसम्म पनि निरन्तर भइरहेको छ ।

नेपाली नागरिकहरू कुलमान घिसिङको पुनर्नियुक्तिको माग गरिरहेका बेला केही जिम्मेवार मन्त्रीहरूले गैरजिम्मेवार जवाफ दिएका छन । तिनीहरूलाई जनरुचिको विषयमा यसरी पूर्वाग्रहपूर्ण टिप्पणी गर्न सरम हुनुपर्ने हो । कुलमानको कामप्रतिको निष्ठा र ठोस परिणामलाई हेरेर आम नागरिकहरूले उनको पुनर्नियुक्तिको विषय उठान गरेका हुन । राजनीतिको वृत्तभित्र हराइरहेको देश र जनताप्रतिको निष्ठा, ईमानदारी र उत्तरदायित्वप्रति आम नागरिकहरूले खबरदारी गरिरहेका छन र सचेत गराइरहेका छन । फुटबल मैदानमा उत्रिएको खेलाडीले जानीजानी आत्मघाती गोल गरेको कसैले पनि सहनसक्ने कुरा होइन । यो कुरा राज्यको उपल्लो निकायमा बसेकाहरूले हमेशा मनन गर्नुपर्ने विषय हो ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखमा पुनर्नियुक्तिको झिनो संभावनालाई नकार्न भने सकिँदैन । नेता रामनारायण विडारीकै भाषामा भन्ने हो भने- कुलमानका बारेमा सडक र सामाजिक सन्जालमा भइरहेका विभिन्न प्रदर्शनहरू र टिकाटिप्पणीहरू सरकार स्वयंले विषय दिएका कारण उत्पन्न भएको हो । त्यो सरकार स्वयंले रोक्न सक्छ । राजनीतिक चलखेल र कमिसनखोरका चक्रव्यूहमा फसेको नेपाल विद्युत् प्राधिकरणको प्राण कुलमानको सिर्जनात्मक क्षमताले जोगिएको सत्य कसैले छोपेर छोपिने विषय हुँदै होइन । केपी ओलीले यो पटक आफ्नो निधारमा लागेका विभिन्न आरोपलाई कुलमान घिसिङको पुनर्नियुक्तिले केही मधूरो बनाउन सक्छन । तर उनी आम जनताले लिइरहेको अग्निपरीक्षामा पास हुन्छन कि फेल ? त्यो उनकै हातको विषय हो ।


प्रकाशित | ६ आश्विन २०७७, मंगलवार १०:५३