जनकपुरधाम आइपुग्यो नेपाली रेल, रेलका कागजपत्र नेपाललाई हस्तान्तरण

जनकपुरधाम । भारतमा खरिद गरिएको नेपाली रेल जनकपुर ल्याइएको छ । एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल जनकपुरधाम ल्याइएको हो । जनकपुरधामको रेल्वे स्टेसनमा भारतीय कम्पनीका अधिकारीले रेल विभागलाई रेलका कागजपत्र हस्तान्तरण गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा अडकिएका थिए । नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो ।

पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर दुरीमा रेल सञ्चालन हुनेछ । दोश्रो चरणमा कुर्थादेखि भंगहासम्म १७ किलोमिटर र त्यसपछि जनकपुरदेखि महोत्तरीको बिजुलपुरा हुँदै बर्दिवाससम्म ६९ किलोमिटर क्षेत्रमा रेल सेवा सञ्चालनको तयारी भइरहेको छ ।

जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेशन र छ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ । स्टेशनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिने छ । रेल सेवाका लागि कर्मचारी भर्ना गर्न विभागले आवेदन समेत आह्वान गरिसकेको छ ।


प्रकाशित | २ आश्विन २०७७, शुक्रबार १५:४९