लामो दूरीको यातायात र हवाई उडान असोज १ गतेबाटै खोल्ने सरकारको निर्णय

काठमाडौं । असोज १ गतेदेखि लामो दूरीको सार्वजनिक यातायात र आन्तरिक हवाइ उडान सञ्चालन हुने भएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनीक गर्नुहुँदै असोज देखि लामो दूरीका सवारी साधन खोल्ने निर्णय भएको जानकारी गराउनुभएको हो । तर भौतिक दूरी कायम हुने गरी एक सिटमा एक जना मात्र राख्न पाइनेछ ।

उभिएर आवत जावत गर्न निषेध गरिएको छ भने ढोकामा अनिवार्य स्यानिटाइटर राख्नुपर्नेछ । चालक र सहचालकसहित यात्रुले अनिवार्य रुपमा मास्क र पन्जा लगाउनुपर्ने छ। यातायात व्यवसायीले भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म भाग लिन पाउनेछन्।

यस्तै, सरकारले आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट पनि असोज १ गतेदेखिनै खोल्ने निणय गरेको छ । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

यस्तै, सरकारले सीमा नाका थप एक महिना बन्द गर्ने निर्णय गरेको छ । यसअघि भोलिसम्म बन्द गर्ने भनिएको सीमा नाका असोज ३० गतेसम्म बन्द गरिएको हो ।

सरकारले नेपाल भारतबाट नेपाल प्रवेश गर्ने थप नाका खुला गर्ने निर्णय पनि गरेको छ। इलामको पशुपतिनगर र दार्चुलाका दुई नाका थपेर १२ वटा नाका खुला गरिएको छ। त्यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने निर्णय गरेको छ।

यस्तै सरकारले हिमाल आरोहण तथा पदयात्रामा आउने विदेशी पर्यटकको लागि कार्तिक १ देखी नेपाल आउन अनुमति दिने भएको छ।

तर नेपाल आउने हरेक विदेशी नागरिकले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । बहराइनका राजकुमारसहित १८ जना भने हिमाल आरोहणका लागि भोलि नेपाल आउँदै छन्।


प्रकाशित | ३० भाद्र २०७७, मंगलवार १९:३९