सिन्धुपाल्चोक लिदीका पहिरो पीडीतलाई एनआरएनए नेदरल्याण्ड्सको आर्थिक सहयोग, उपाध्यक्ष लामाद्धारा हस्तान्तरण

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए एनसिसी ) नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एनसिसी नेदरल्याण्ड्सले संकलन गरि पठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गर्नुभयो ।

उपाध्यक्ष लामाले सोही वडाका वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्व अध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागि हुनुहुन्थ्यो ।

सो अवसरमा उपाध्यक्ष लामाले एनआरएनएले यो रकम पहिरो पीडितहरुको जीवीर्कोपार्जनमा खर्च गरियोस भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताउनुभयो । संघले यसअघि पनि यही ठाउँमा आएर ५ लाख सहयोग गरेको बताउँदै उपाध्यक्ष लामाले सो सहयोग तत्काल रिलीज गरि पीडितहरुको आवश्यकताअनुसार खर्च गर्न पनि आग्रह गर्नुभयो ।

साथै उपाध्यक्ष लामाले एनआरएनए एनसिसी नेदरल्याण्ड्सको सराहनीय कार्यको प्रशंसा गर्नुहुँदै वर्तमान कोभिड -१९ को विषम परिस्थितिमा पनि रकम संकलन गरि पठाएकोमा एनसिसी अध्यक्ष श्रीराम कँडेल लगायत सम्पूर्ण कार्यसमिति तथा सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

सो वडाका वडाध्यक्ष प्रताप लामाले नेदरल्याण्ड्सबाट सहयोग रकम संकलन गरि पठाउनुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध रकम पीडितहरुको आवश्यकताअनुसार खर्च गर्ने बताउनुभयो ।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पुर्‍याउँदा १६७ भन्दा बढी मानीसहरु प्रभावीत भएका छन् ।

सिन्धुपाल्चोकबासी सिता सापकोटाको पहलमा एनआरएनए एनसिसी नेदरल्याण्ड्सबाट संकलीत रकम लिदी पठाइएको हो । त्यस्तै, एनआरएनएए नेदरल्याण्ड्सका अध्यक्ष श्रीराम कंडेल र महासचिव संघर्षशील केसीले संयुक्त रुपमा एक बिज्ञप्ति जारी गर्नुहुँदै सिन्धुपाल्चोकको लिधि पहिरो पीडीतसँगै नेपालको बाढीपहिरोका कारण अत्यधिक प्रभावित क्षेत्र अछाम र म्याग्दीमा पनि दुइ दुई लाख राहत सहयोग पठाइसकेको जानकारी गराउनुभएको छ ।


प्रकाशित | २६ भाद्र २०७७, शुक्रबार २१:१४