काठमाडौं‌ उपत्यकामा एकै दिन थपिए ६९६ कोरोना संक्रमित

काठमाडौं – काठमाडौं उपत्यकामा शुक्रबार ६९६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या १० हजार ७ सय ८ पुगेको छ। काठमाडौंमा ८ हजार ७ सय २६, ललितपुरमा १ हजार ९२ र भक्तपुरमा ८९० संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५१ हजार ९१९ जना पुगेको छ। आज ९ सय ७२ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

१७० आइसियुमा र भेन्टिलेटरमा २५ जना संक्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। यस्तै कोरोना संक्रमित भई होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ६ सय ३४ रहेको छ भने क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ६ सय ७८ रहेको डा गौतमले बताउनुभयो ।


प्रकाशित | २६ भाद्र २०७७, शुक्रबार १९:५८