ठमेलका व्यवसायीलाई एक वर्षसम्म घरभाडामा ५० प्रतिशत छुट दिइने

काठमाण्डौ : ठमेलका व्यवसायीलाई एक वर्षसम्म घरभाडामा ५० प्रतिशत छुट दिइने भएको छ । ठमेलका व्यवसायी र घरधनीबीच ६ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी बनेको हो ।

ठमेलका घरधनीसँग भएको सहमति अनुसार एक वर्षसम्म ५० प्रतिशत भाडा छुट दिने समझदारी बनेको पर्यटन क्षेत्रका २२ संस्थाले आज ठमेलमा संयुक्त पत्रकार सम्मेलन गदैै जानकारी गराएका हुन ।

ठमेल पर्यटन विकास परिषद्का अनुसार कोभिड–१९ महामारीको कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी पलायन हुँदा त्यस क्षेत्रमा दुई सय ७० कोठा तथा सटर खाली छन् ।
परिषद्दवारा गठित कोभिड १९ पर्यटन व्यवसायी विपद् समन्वय समितिको पहलमा ठमेल क्षेत्रका तीन सय ५० व्यवसायी र घरधनीबीच भाडा छुटको समझदारी भएको समितिका संयोजक भवी शर्माले जानकारी दिनुभयो ।

ठमेललगायत सम्पूर्ण पर्यटकीय क्षेत्रका व्यवसायीहरुले लकडाउन सुरु भएको मितिदेखि उपयोग गर्दै आएका र कम्तीमा एक वर्षसम्मका लागि विद्युत् महसुलको ५० प्रतिशत छुट र विद्युतको युनिट उठेको मात्र शुल्क लिनका लागि सम्बन्धित निकायमा अनुरोधसमेत गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ठमेल क्षेत्रमा दुई सयभन्दा बढी घरधनी र १० हजार व्यवसायी रहेको जानकारी दिइएको छ । लकडाउनको कारण तीन महिनाभन्दा बढी समयदेखि प्रायः ठप्प ठमेल क्षेत्रका व्यवसायीले अहिलेकै अवस्थामा व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको बताएका छन् ।


प्रकाशित | १९ असार २०७७, शुक्रबार ११:१९