लाेभलाग्दाे गोलभेँडा खेती, माग धान्नै मुस्किल

सङ्खुवासभा । हामीले विदेशमा एउटै बोटमा धान्न नसक्ने गरी गोलभेँडा फलेको देखेका हौँ तर अहिले नेपालमा त्यो पनि पहाडी जिल्लामा टनेलमा यस्तै खेती शुरु गरिएको छ । लकडाउनको समयमा आमनागरिक घरभित्रै रहिरहँदा दुई दाजुभाइलाई भने टमाटर खेतीले भ्याईनभ्याई छ । खाँदबारी नगरपालिका-४ पांमामा १० रोपनी क्षेत्रफलमा लगाइएको गाेलभेँडा राम्रो मूल्यमा बिक्री गरिरहेका बलबहादुर राई र गङ्गाराज कुलुङले मनग्गे आम्दानी लिइरहनुभएको छ ।

यो समयमा टमाटरको माग उच्च हुन्छ भन्ने बुझेका दाजुभाइले हाल दैनिक तीन सय किलोभन्दा बढी टमाटर उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । अन्य सिजनको समयमा भन्दा यो बेला उच्च मूल्यसमेत पाउने भएकोले टनेल बनाएर टमाटर उत्पादन गर्नुभएको हो । अहिले सङ्खुवासभाको बजारमा टमाटरको मूल्य प्रतिकिलो १६० रुपियाँ छ । जिल्लाका व्यापारीहरूलाई भने १२० रुपियाँको दरले उपलब्ध गराउँदै आउनुभएको छ ।

हाल भइरहेको उत्पादनले सम्पर्कका व्यापारीहरूको माग धान्न नसकेको कृषक बलबहादुर राईको भनाइ छ । लकडाउनको समयमा तराईको तरकारीहरू अत्यन्तै कम आउने र स्थानीय उत्पादन पनि न्यून भएकोले बजार माग उच्च रहेको राईको भनाइ छ ।

व्यापारीले माग गरे जत्ति दिन नसकेपछि कत्तिपय बारीमै आइपुग्ने गरेको राईले बताउनुभयो । ‘मागेजति दिनै सकिँदैन, यो पटक तपाईंलाई पुग्दैन भन्दा पनि बोटमै लिन आईपुग्छन्’, कुषक राईले भन्नुभयो ।

१२ वटा टनेल बनाएर टमाटर उत्पादन गर्दै आएका दाजुभाइले दुई जनालाई रोजगारीसमेत दिनुभएकाे छ । गोडमेल र टमाटर टिप्नको लागि एक पुरुष र एक महिलालाई रोजगारी दिँदैआउनुभएकाे हाे । यो समयमा अत्यधिक वर्षात हुने भएकोले टनेल अनिवार्य रहेको कृषक गङ्गाराज राईको भनाइ छ । टनेलबाहिर रोपे वर्षाको कारण मर्ने, फल नलाग्ने भएकोले अनिवार्य टनेल हाल्नुपरेको कुषक राईको भनाइ छ ।

सुरुमा पाँचलाख रुपियाँ लगानीबाट सुरु गरिएको खेतीबाट अहिले आफुहरू सन्तुष्ट रहेको बलबहादुर राईको भनाइ छ । लकडाउनको समयमा मात्र करिब पाँच लाख रुपियाँ बराबरको टमाटर बिक्री भइसकेको राईको भनाइ छ । पहिलो लटमा अनुभवको लागि एउटा टनेलभित्र र टनेलबाहिर टमाटर लगाएको र राम्रो उत्पादन हुने देखिएपछि १२ वटा टनेलमा बिरुवा लगाएको कुलुङले जानकारी दिनुभयो । आफ्नो पाँच रोपनीबाहेक वार्षिक ५० हजार रुपियाँ तिर्ने गरी जग्गा भाडामा लिएर दुई दाजुभाइले खेती सुरु गरेको बताएका छन् ।

भाइ गङ्गाराज आफैँ पनि कृषि प्राविधिक (जेटिए) हुन् । कृषि प्राविधिकको रुपमा लामो समय प्रोजेक्टमा काम गरिसकेपछि उक्त जागिर छोडेर आफैँले खेती सुरु गरेका हुन् । दुई दाजुभाइलाई भतिजी छोरीले पनि प्राविधक सहयोग गर्दै आएको बताएका छन् । भतिजी पनि आईएसई एजी हुन् । प्राविधिक रुपमा पुग्दो जनशक्ति रहेको दाजुभाइले अन्य तरकारी खेती पनि लगाउने तयारी गरिरहेको बताएका छन् । गोरखापत्र दैनीकमा प्रकाशित समाचार


प्रकाशित | २३ भाद्र २०७७, मंगलवार ०७:४५

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *