सरकारले नेपाली जनता कसैलाई भोकै बस्न दिदैन – प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता कसैलाई भोकै बस्न नदिने बताउनुभएको छ । प्रधानमन्त्री तथा अर्थमन्त्री ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग सुझाव र परामर्शका लागि आयोजना गर्नुभएको छलफल कार्यक्रममा बोल्नुहुँदै सो कुरा बताउनुभएको हो । आफ्नो संबोधनका क्रममा प्रधानमन्त्रीले नागरिकको जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको स्पष्ट पार्नुहुँदै स्वतन्त्रताको असन्तुलित वकालतले गर्दाचाहिं धेरै ठूलो क्षति भोग्नुपर्नेतर्फ सबैको ध्यानाकर्षण गर्नुभयो ।

उहाँले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको समेत उल्लेख गर्नुभयो । कोभिड १९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जिम्मेवारहरू सचेत हुन पनि उहाँले निर्देशित दिनुभयो ।

उहाँले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउनु हुँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गर्नुभयो । प्रधानमन्त्रीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पार्नुभयो ।

काम गरेर खान नेपालमा समस्या नरहेको स्थिति पनि उहाँले स्पष्ट पार्नुभयो र भन्नुभयो । भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरू यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन पनि आह्वान गर्नुभयो ।

छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैठौ मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने देखाउने उहाँको तर्क थियो । कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको मनोबल बढाउनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो ।

उक्त अवसरमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका नेतृत्वकर्ताहरूको तर्फबाट आआफ्ना सुझावहरू प्रस्तुत गर्नुभएको छ ।

त्यसक्रममा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाइ चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन अनुरोध प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको छ ।

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेको अध्ययन र संबोधनको बारेमा स्पष्ट गर्नुभएको छ ।

करिब अढाई घण्टासम्म चलेको आजको छलफलको आयोजनाका निम्ति निजी क्षेत्रका नेतृत्वकर्ताहरूले सरकार र प्रधानमन्त्रीलाई विशेष धन्यवाद र आभार व्यक्त गर्नुभएको छ ।


प्रकाशित | २१ भाद्र २०७७, आईतवार २०:५३