लकडाउनका बीच मन्त्री गुरुङको निर्देशनमा भक्तपुरमा पनि ६ जना बालकको उद्धार

काठमाडौं : भक्तपुरमा सडकमा भेटिएका ६ जना बालकको उद्धार गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रिय बाल अधिकार परिषदले बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) को समन्वयमा भक्तपुरको कमल विनायकबाट ५ जना र ठिमीबाट १ जना गरी ६ जना बालकको उद्धार गरिएको हो ।

उद्धार गरे लगत्तै उनीहरुको पुनस्र्थापना केन्द्रमा व्यवस्थापन गरिएको पनि परिषदका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । लकडाउनका बेला भक्तपुरमा पनि सडकमा बालकहरु बेवारिसे अवस्थामा भेटिएको खवर आउने वित्तिकै मन्त्री पार्वत गुरुङले तत्काल उनीहरुको उद्धार गरी व्यवस्थापन गर्न परिषदलाई निर्देशन दिनु भएको थियो । त्यसलगत्तै सडकमा भेटिएका ती बालकहरुको असार १ गते अपरान्ह (हिजो)उद्धार गरी संरक्षणका लागि आवश्यक व्यवस्था परिषदले मिलाएको हो ।

लकडाउनको यस अवधिमा काठमाडौं उपत्यका भित्र ४१ जना र उपत्यका बाहिर ३२ जना गरी जम्मा ७३ जना सडकमा बेवारिसे अवस्थामा भेटिएका बालबालिकाको उद्धार गरी संरक्षणको व्यवस्था मिलाइएको परिषदले जनाएको छ ।

यसैबीच, मन्त्री गुरुङले सडकमा बालबालिका बेवारिसे अवस्थामा भेटिए तत्काल नेपाल प्रहरी वा बालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाईन सेवा ‘१०४’ मा तत्काल खवर गर्न सबैलाई पुनः आग्रह गर्नु भएको छ ।


प्रकाशित | २ असार २०७७, मंगलवार १५:३८