नेपालमा एकै दिन १ हजार ५ सय ६६ जनाले जिते कोरोना, थप १ हजार ४१ जनामा संक्रमण

काठमाडौं – नेपालमा एकै दिन १ हजार ५ सय ६६ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घन्टामा कोरोना जित्नेको संख्या अहिलेसम्मकै धेरै हो । यो सहित डिस्चार्ज हुनेको संख्या २७ हजार १६६ पुगेको छ । यो कुल संक्रमितको ६० प्रतिशत हो ।

त्यस्तै, पछिल्लो २४ घन्टामा थप १ हजार ४१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४७३ जनाको परिक्षण गरिएकोमा १ हजार ४१ जना थपिएका हुन । यो सहित कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

त्यस्तै, शनिबार काठमाडौं उपत्यकाम ४०८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएका हुन । हाल क्वारेन्टाईनमा ६ हजार ५६१ जना छन् ।

पछिल्लो २४ घन्टामा ९ जनाको निधन भएको छ । प्रवत्ता गौतमका अनुसार तीन महिला र ६ पुरुषसहित ९ जनाको निधन भएको हो । यो सहित नेपालमा कोरोनाको कारण निधन हुनेको संख्या २८० पुगेको प्रवक्ता गौतमले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।


प्रकाशित | २० भाद्र २०७७, शनिबार १६:२९