निगमको जहाज उडान रद्द प्रकरण: ६ कर्मचारीलाई कारबाही सिफारिस

काठमाडौं: चैत १९ मंगलबार राति चार मिनेट समय थप नदिँदा नेपाल वायुसेवा निगमको जहाज उड्न नपाएको घटनामा ६ जनालाई विभागीय कारबाही सिफारिस गरिएको छ। घटनाबारे छानबिन गर्न गठित पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेतृत्वको चार सदस्यीय समितिले शुक्रबार प्रतिवेदन बुझाउँदै घटनामा दोषी देखिएकालाई कारबाही गर्न सिफारिस गरेको हो। प्रतिवेदनमा विमानस्थलको टावरमा कार्यरत दुई कर्मचारीबीच प्रभावकारी समन्वय नभएको भन्दै कारबाही गर्न भनिएको छ।

त्यस्तै, उडान रद्द भएपछि यात्रु व्यवस्थापनमा तत्काल उपयुक्त कदम नचालेको भन्दै निगमका दुई कर्मचारीलाई र ह्यांगरबाट पार्किङ वेमा जहाज ल्याउँदा समन्वयमा कमजोरी गर्ने निगमकै थप दुई कर्मचारीलाई पनि विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ। तर, नाम किटान गरेरै कारबाही सिफारिस गरिए पनि दोषीको नाम भने सार्वजनिक नगर्ने सहमति भएको छानबिन समितिका एक सदस्यले बताए। व्यक्ति विशेषको आदेशका भरमा काम हुने गरेको पाइएको भन्दै प्रतिवेदनमा लिखित रूपमा समस्या समाधान गर्ने विधि विकास गर्न नागरिक उड्डयन प्राधिकरणलाई सुझाब दिइएको छ। समितिले धावनमार्ग बन्द गर्नेबारे हवाइ सेवा प्रदायक कम्पनीलाई दिइएको सूचना ‘नोटम’ कार्यान्वयन सबै कर्मचारीबाट समान रूपमा हुनुपर्ने सुझाब पनि दिएको छ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार ०८:२४