एनआरएनको ‘घुम्ती रगत बस परियोजना’

काठमाडौं – गैर आवासीय नेपाली संघले नेपाल रेडक्रस सोसईटी चितवनसंग सहकार्य गरि मौसम प्रतिकुलताको बेलामा पनि रगत संकलन गर्नको लागि “घुम्ती रगत बस परियोजना” (  Mobile Blood Bus Project) संचालन गर्न लागेको छ । यसले रगतको संकलन तथा भण्डारणमा सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्व सुलभ बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

यस परियोजनाको लागि स्वास्थ्य सामाग्री सहितको बस बनाउनको लागि सम्झौता भई सकेको छ । यही अक्टोबरमा क्षेत्रीय रक्तसंचार सेवा भरतपुरलाई हस्तान्तरण हुने छ । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा रहेको यस परियोजनामा सबै गैरआवासीय नेपालीहरुलाई सहयोग गरिदिन आग्रह गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखा अन्तर्गत क्षेत्रिय रक्तसंचार सेवा चितवनले स्थापना काल देखि नै बिरामीहरुलाई सेवा पुर्याउदै आएको छ । नेपालमा एक उपचार केन्द्रको रुपमा स्थापित चितवनमा विभिन्न खालका बिरामीहरुलाई रगत उप्लब्ध गराई सेवा दिने कार्य क्षेत्रिय रक्तसंचार सेवा चितवनले गरेको छ ।

हाल, रगतको माग बढे पनि आपूर्ति बढेको छैन । धेरै गर्मी र धेरै चिसोको बेलामा रक्तदान घट्ने गरेको छ । जसले गर्दा रगत नभई नहुने थालासेमिया, हेमोफिलिया, किड्नी रोगी, हृदय रोग र रक्तक्यान्सर रोगीका लागि झन समस्या हुने र रगत नपाएर काठमाडौँ गई रक्तसंचार सेवा लिनु पर्ने अवस्था छ ।

नेपाल बाहिर रहेर पनि आफ्नो देशप्रतिको जिम्मेवारी पुरा गर्न धेरै गैर आवासीय नेपालीहरुले नेपालमा आर्थिक श्रोत तथा प्राविधिक ज्ञान र सिपको लगानी गरेका छन् ।

“नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैर आवासीय नेपाली संघले रक्तसंचार पद्धति कार्यदल स्थापना गरेको छ । यस कार्यदलले नेपालमा रगत सेवालाई गुणस्तरीय र सर्व सुलभ बनाउनको लागि रक्तसंचार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु संचालन गरेको हो ।


प्रकाशित | ११ भाद्र २०७७, बिहीबार १६:२०