कोरोना भाइरस : जोखिममा गर्भवती, जोगिने कसरी ?

डा कविता अधिकारी

कोरोना भाइरस (कोभिड–१९) एक किसिमको भाइरल रोग हो। कोरोना भाइरसले विशेषगरी मानिसको श्वासप्रश्वास प्रणालीमा असर गर्छ। 

यो भाइरस मुख, नाक र आँखाको माध्यमबाट शरीरभित्र प्रवेश गर्छ। कोरोना लागेको १४ दिनपछि यसको लक्षण देखिने गर्छ। तर कुनै मानिसमा लक्षण नै देखिँदैन। जसका कारण अर्को व्यक्तिमा कोरोना संक्रमणको जोखिम बढी हुन्छ। 

कोरोनाको जोखिम सबै वर्गमा हुन्छ। तर केही यस्ता वर्ग छन्, जसलाई कोरोनाको जोखिम अन्यभन्दा बढी नै हुन्छ। ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका अनि गर्भवती महिला यसको बढी जोखिममा पर्छन्। 

गर्भवतीमा रोग प्रतिरोधात्मक क्षमता कम हुने एवं श्वासप्रश्वास तथा मुटुको क्षमता कमजोर हुन्छ। त्यसैले उनीहरु कोरोनाको जोखिम समूहमा पर्छन्। उनीहरु सधैं सतर्क रहनुपर्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को निर्देशन अनुसार सामाजिक दूरी कायम गर्ने, २० सेकेन्डसम्म साबुनपानीले हात धुने, खोक्दा या हाछ्युँ गर्दा नाक मुख छोप्ने, सकेसम्म भीडभाडमा नजाने र मास्कको प्रयोग गर्नुपर्छ। 

गर्भवती मनोवैज्ञानिक रुपमा कमजोर हुन्छन्। यो बेलामा घर परिवारको पूर्ण साथ र हौसलाको आवश्यक पर्छ। शरीरले माग गरेअनुसार पौस्टिक आहार खानुपर्छ। कोरोना भाइरसले गर्भवती महिला र गर्भमा रहेको शिशुलाई असर गर्ने गरेको विभिन्न अध्ययनहरुमा पाइएको छ। यद्यपि ती अध्ययनहरुले हालसम्म ठोस निष्कर्ष भने दिन सकेको छैन। 

गर्भवती महिलामा कोरोना संक्रमण भए पनि महिलाको दूध र अम्निओटिक फ्लुइडमा यो भाइरस देखापरेको छैन। तर महिना नपुगी बच्चा जन्मिने समस्या भने कुनै महिलामा पाइएको अध्ययनले देखाएको छ। 

आफूलाई कोरोनाका लक्षण उच्च ज्वरो, झाडापखाला, श्वासप्रश्वास एवं पाचन प्रणालीमा समस्या देखिए तत्काल चिकित्सकसँग परामर्श गर्नुपर्छ। चिकित्सकको सल्लाह बमोजिम पिसिआर परीक्षण गर्नुपर्छ। कोरोना संक्रमण भएको अवस्थामै शिशु जन्मिए सही विधि अपनाएर स्वस्थ तरिकाले स्तनपान गर्न मिल्ने अध्ययनहरुले प्रमाणित गरेका छन्। 

तर, संक्रमित आमाले शिशुलाई स्तनपान गराउँदा भने ध्यान दिनुपर्छ। शिशुलाई छुनुअघि राम्रोसँग साबुनपानीले हात धुने, सही तरिकाले मास्क प्रयोग गर्ने, आफू बसेको ठाउँलाई संक्रमणमुक्त राख्ने र यदि धेरै अस्वस्थ भएमा पम्पको उचित प्रयोग गर्नुपर्छ।

कोरोना संक्रमित महिलाले शल्यक्रिया अर्थात् पेट चिरेर बच्चा जन्माउनुपर्छ भन्ने हुँदैन। तर कोरोनाले कुनै पनि बेला समस्या निम्त्याउन सक्ने हुँदा नियमित रुपमा चिकित्सकको परामर्श एवं निगरानीमा बस्नुपर्छ। 

कोरोना संक्रमित महिलाले सफलतापूर्वक सामान्य डेलिभरी गरेका कयौं उदाहरण पनि छन्। तर सकेसम्म सुरक्षित भएर कोरोना संक्रमण हुन नदिनु नै बुद्धिमानी हुन्छ। त्यसैले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सावधानी अपनाउन अति नै आवश्यक छ।  स्रोत -स्वास्थ्य खवर

(डा अधिकारी दीर्घायु अस्पतालकी कन्सल्ट्यान्ट गाइनोकोलोजिस्ट हुन्।)


प्रकाशित | ८ भाद्र २०७७, सोमबार १८:५३