काठमाडौं उपत्यकामा २१६ सहित थप ६३४ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार ५१९ जनाको परिक्षण गरिएकोमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार थपिएकासहित कोरोना संक्रमितको संख्या ३१ हजार ११७ जना पुगेको छ।

त्यस्तै, शनिबार काठमाडौं उपत्यकामा २१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा १६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी गराउनुभयो ।

पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ३५० उपचारपछि निको भएका छन्।

थप ९ जनाको निधन

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । ६ वटा जिल्लामा गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

सुनसरीमा २, पर्सामा ३, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा १ /१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।

मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुष रहेका छन्। यस्तै, बारामा ५८, सिरहामा ६८, मकवानपुरमा ५६ र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना संक्रमणको मृत्युदर शून्य दशमलव ५ प्रतिशत रहेको गौतमले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ ।


प्रकाशित | ६ भाद्र २०७७, शनिबार १६:३१