हरितालिका तीजको आज दर खाने दिन

काठमाडौँ – आज हरितालिका तीजको अघिल्लो दिन महिलाहरूले दर खाँदै छन् । दर खाने दिनसँगै चार दिनको तीज पर्वको शुरूवात भएको मानिन्छ ।

तीजको पहिलो दिन दर खाने चलन छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिला घरमै छन् ।

तीजको व्रत बस्न सक्नेहरु निराहार हुने भएकाले आज शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाई शुक्रबारको व्रतका लागि पूर्व तयारी गर्छन् ।

विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली एवं दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको छ ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरू हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तीज समापन हुन्छ ।

यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी यही भदौ ६ गते र ऋषिपञ्चमी पर्व भदौ ७ गते मनाइने समितिले जनाएको छ ।

गणेश चौथी प्रातःकालमा तिथि परेका दिन मनाइन्छ । ऋषिपञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

पुराणअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन् ।

तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलन थालेपछि धेरै मन्दिर चैतदेखि नै बन्द गरिएको छ । पशुपतिनाथ मन्दिर गत चैत ११ गतेदेखि नै बन्द छ ।


प्रकाशित | ४ भाद्र २०७७, बिहीबार १०:३६