लियोनलाई हराउँदै बायर्न फाइनलमा

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पोर्चुगलको लिस्बनमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३-० गोल अन्तरले पराजित गर्दै बायर्न उपाधि नजिक पुगेको हो ।

स्टाडियो जोसे अल्भालाडे रंगशालामा बायर्नलाई जित दिलाउन सर्ज गनाब्रीले दुई गोल गरे । यस्तै रोबर्ट लेवान्डोस्कीले एक गोल थपे ।

खेलको १८ औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३-० को जित दिलाए ।
खेलमा लियोनले समेत गोलको केहि अवसर पाएको थियो । तर, दुबै हाफमा पाएको अवसरलाई लियोनले सदुपयोग गर्न सकेनन् ।

लियोनका केहि उत्कृष्ट प्रहार बायर्नका गोलकिपर म्यानुएल नुएरले उत्कृष्ट बचाउ गरेका थिए । अब बायर्नले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ ।

पीएसजी पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ । बायर्न र पीएसजीबीचको फाइनल खेल अगस्ट २४ मा हुनेछ ।


प्रकाशित | ४ भाद्र २०७७, बिहीबार ०९:०६