कोरोना संक्रमण बढेसँगै नुवाकोटमा निषेधाज्ञा एक साता थपियो

नुवाकोट – कोरोना संक्रमण बढ्दै गएपछि नुवाकोटमा जारी निषेधाज्ञा एक साता थप गरिएकोे छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा थप गरिएको हो ।

केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले गत साउन २५ गतेदेखि १० दिन लगाइएको निषेधाज्ञालाई निरन्तरता दिर्दै सङ्क्रमण थप फैलन नदिन पुनः एक साताका लागि बढाइएको बताउनुभयो ।

स्थानीय प्रशासन ऐन र सङ्क्रामक रोग ऐनअनुसार जारी गरिएको निषेधाज्ञा जिल्लाको विदुर र बेलकोटगढी नगरपालिकासहित लिखु, सूर्यगढी, दुप्चेश्वर, पञ्चकन्या र शिवपुरी गाउँपालिकाको सबै स्थानमा तोकिएको छ ।

यसैगरी तादी गाउँपालिकाको वडा नं २, ३, ४ र ५, तारकेश्वर गाउँपालिकाको वडा नं २, ४, ५ र ६ र ककनी गाउँपालिकाको पासाङ ल्हामु राजमार्ग आसपासमा पर्ने वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा कायम हुने निर्णय गरिएको हो ।


प्रकाशित | ३ भाद्र २०७७, बुधबार १५:४९