नेपालमा चट्याङको जोखिम बढी, यी हुन् बच्ने उपाय

काठमाडौं : विज्ञहरुले अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने सुद्याएका छन् । विज्ञका अनुसार चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ । नेपालमा पछिल्लो समय निर्माण गरिएका भवनमा त्यहाँका विद्युतीय सामानका अर्थिङ गर्ने गरिए पनि भवनको अर्थिङसमेत जोड्ने क्रम अझै प्रभावकारी ढङ्गले गरिएको पाइँदैन ।

घरका विद्युतीय सामानको अर्थिङ गर्दा टाढाबाट विद्युतीय तार र टेलिफोनका तारमार्फत आउने करेन्टबाट बचाउन सकिने विज्ञ डा श्रीराम शर्मा बताउनुहुन्छ । घर एवं भवनमा विद्युतीय सुचालकको प्रयोग गरेर आकाशदेखि जमीनसम्म सजिलो बाटो उपलब्ध गराउन सकेमा घर चट्याङको जोखिमबाट बच्ने उहाँको भनाइ छ ।

शर्माका अनुसार १० किलोमिटर पर परेको चट्याङलाई समेत विद्युतीय वा टेलिफोनका तारले भोल्टेजलाई एन्टेनाको रुपमा रिसिभ गरेर घरसम्म ल्याउने गर्दछ । घरमा विद्युतीय सामानसहित सम्पूर्ण भवनको चट्याङ प्रतिरक्षा सामग्री जोड्नुपर्ने उहाँले बताउनुभयो ।

चट्याङको फाइन सिग्नेचर विषयमा नेपालमा पहिलो विद्यावारिधि गर्नुभएको डा पितृभक्त अधिकारी चट्याङ परेको समयमा निकै सावधानी अपनाउनुपर्ने सुझाव दिनुहुन्छ । विदेशको एउटै फुटबल मैदानमा एकै समूहका ११ खेलाडीले चट्याङका कारण ज्यान गुमाउनुपरेको भन्दै उनले सावधानी अपनाउनु नै बच्ने उपाय भएको बताउनुभयो ।

उहाँका अनुसार घर बाहिर हुँदा खुला ठाउँमा रहेमा टाउको र खुट्टा जोडेर गोलो परेर बस्नुपर्ने हुन्छ । रुखको नजिक नबस्न, बिजुली र फोनको पोल, अग्ला भवन नजिक पनि नबस्न उहाँले सुझाउनुभयो । विद्युतीय सामग्री प्लगमा नजोड्न र ल्याण्डलाइन फोनमा कुरा नगर्न पनि अधिकारीको सुझाव छ । तर मोबाइल फोन भने चलाउन सकिने उहाँको भनाइ छ ।

गाडीमा रहेमा सिसा लगाएर बस्नु पर्छ । धातुका गाडी सुरक्षित हुने भए पनि प्लाष्टिकका गाडी असुरक्षित हुने विज्ञको भनाइ छ । खेतमा पानीमा काम नगर्न र पौडी नखेल्न पनि उहाँको सुझाव छ । घरभित्र बस्दा झ्याल र भित्ता नजिक बस्न नहुने भन्दै उनले धाराका पानीमा करेन्ट आउनसक्ने भएकाले पानी नखेलाउन पनि सुझाव समेत दिनुभयो ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १२:३६